काठमाडौं । डा. ज्ञान बस्नेतले आगामी मंसीरमा हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
संस्कारको राजनीतिको वकालत गर्ने, राष्ट्रिय स्वाधिनाताको रक्षाका लागि आफूले संसद सदस्य पदमा उम्मेदवारी दिन लागेको उनले बताए ।
यसैगरी उनले युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्न, दण्डहीनता, कुशासन, भ्रष्टाचार, हरेक खालको अन्याय र अत्याचारको विरुद्ध उम्मेदवारी दिएको पनि उनको भनाई रहेको छ ।
उनले भने,‘यो मेरो उमेदवारी दलीय प्रणालीको विरुद्धमा नभई नेपालमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक विकृित र भागबण्डाको राजनीतिको विरुद्धमा हो ।’
बेलायतबाट कानुनमा विद्यावारिधी गरेका डा.बस्नेत भोजपुरको विकट ठाँउमा जन्मिएर संघर्ष गर्दै राजधानी प्रवेश गरेका हुन् ।
उनले नेपालबाट एकपटक र दोस्रो पटक बेलायतबाट कानुनमै स्नातकोत्तर अध्ययन गरेका हुन् । त्यसपश्चात उनले मानव अधिकारको विषयमा बेलायतबाट विद्यावारिधी गरे । उनी मानव अधिकारको विषयमा विद्यावारिधी गर्ने नेपालकै पहिलो व्यक्ति हुन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको चक्रवर्ती हावी एजुकेशन ल युनिभर्सिटीमा प्राध्यापकको रुपमा उनी कार्यरत छन् भने उनी खुला विश्वविद्यालयमा समेत प्राध्यापन गर्दछन् ।
उनी लेख तथा स्तम्भहरु एसिया टाइम्स अनलाईन, हङ्कङ, त्जभ म्बधल नेशनल पेपर पाकिस्तान तथा युरो एसिया रिभ्यू एण्ड न्यूज एनालाइसिसमा समेत अंग्रेजी माध्यमबाट लेखहरु प्रकाशन हुँदै आइरहेका छन् ।
स्तम्भकारको रुपमा परिचित डा.बस्नेतले नेपालबाट प्रकाशित हुने द हिमालयन टाइम्स, राइजिङ नेपाल, काठमाडौँ पोष्टमा समेत लेख तथा स्तम्भहरु प्रकाशन गर्दै आएका छन् । २०३४ सालमा भोजपुरमा जन्मिएका डा. बस्नेतले एसएलसी भोजपुरबाटै उतिर्ण गरे ।
हाल उनी काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा बस्दै आएका छन् । अनुसन्धानकर्ता तथा अधिवक्ताको रुपमा समेत परिचित डा. बस्नेतका मानवअधिकार सम्बन्धी कानुनमा दुईतीन वटा पुस्तकहरु प्रकाशन हुने तयारीमा छन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट उनका पुस्तकहरु छिट्टै प्रकाशित हुने भएका छन् ।
गत निर्वाचनमा काठमाडौं–९ बाट क्षेत्रबाट अघिल्लो निर्वाचन नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए । श्रेष्ठले नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गर्दै विजयी बनेका थिए । त्यस निर्वाचनमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका तत्कालीन संयोजक मिलन पाण्डे पनि उम्मेदवार बनेका थिए ।
आगामी निर्वाचनमा पाण्डेले पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । अन्य पार्टीले पनि सो क्षेत्रमा ह्याभी वेट उम्मेदवार नै उठाउने संभावना छ ।
हाल नेपालका राजनीतिमा स्वतन्त्र उमेदवारहरुको स्थान बढ्दै गाएको पाइन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए ।
त्यस्तै धरानमा हर्क साम्पाङ, नेपालगञ्जमा गोपाल हमाललगायतका स्वतन्त्र उमेदवार विजयी भएपछि देशभर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।
हालै स्वतन्त्र उम्मेदवार अभियन्ताहरूले काठमाडौंमा विशेष भेला आयोजना गरेका थिए भने सञ्चारकर्म छाडेर रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल निर्वाचन आयोगमा दर्ता भएकेको छ ।