• मंसिर ११ २०८१, मंगलवार

भारतीय कुटनीतिमा आमूल परिवर्तन जरुरी

पुष २० २०७८, मंगलवार

भारतको विसाल आकार र भौगोलिक संरचनाले गर्दा दक्षिण एसियाको हरेका द्विपक्षीय र बहुपक्षीय मुद्दा प्रभावित हुने गरेका छन् । दक्षिण एसियाली मुलुकमा भइरहेको प्रजातान्त्रिक आन्दोलन वा परिर्वतनमा भारत घोषित र अघोषित रुपमा जिम्मेवार हुने गरेको छ ।

दक्षिण एसियाली हरेक मुलुकमा राजनीतिक दलले भारतको बारेमा एउटा भाष्य निर्माण गरेका हुन्छन् । पाकिस्तानको जन्म नै भारतविरोधी भाष्यमा भएकाले त्यहाँको राष्ट्रवादको सूचकाङ्क नै भारत विरोधी हुन आउँछ । बङ्गलादेशको धाइआमा भारत भए तापनि मोदीको बांगलादेश यात्राको सेरोफेरोमा भारतविरोधी दङ्गा र प्रदर्शन नभएका होइनन् ।

श्रीलङ्काको आन्तरिक मामिलाका कारण भारतले आफ्नो अद्वितीय नेता राजीव गान्धी गुमाएको पनि हो । नेपालको हरेक राजनीतिक परिर्वतनमा भारतको सहयोग र सदभाव रहे तापनि भारत विरोधी भाष्यले मलजल पाएकै छ ।

दक्षिण एशियामा भारतविरोधी भाष्यको निर्माणमा पश्चिमाको खेल, चिनियाँ नीति, भारतीय कूटनीतिक कमजोरी आदि रहेका छन् । भारतविरोधी भाष्यबाट भारत पनि प्रभावित छ र भाष्य प्रयोगकर्ता देश पनि स्वयम् प्रभावित अवस्थामा छन् ।

भारतको आर्थिक विकासको क्षमता र भौगोलिक बनावटका कारण कुनै पनि दक्षिण एसियाली देशले भारतसँग टाढा भएर आर्थिकलगायतका विषयमा गति लिन सकिरहेका छैनन् । कटु सत्य के हो भने भारत पनि छिमेकी देशको सहयोग र साथ विना अन्तर्राष्ट्रमा उदाउन सक्ने देखिदैन ।

बाङ्गलादेशको आर्थिक सम्बन्ध भारतसँग घनिभूत रुपमा बढिरहेकाले त्यहाँको प्रति व्यक्ति आय भारतभन्दा पनि बढि रहेको तथ्याङ्कले देखाइरहेको छ । चीन र अमेरिकाको छत्रछाया भए पनि पाकिस्तानी अर्थतन्त्र माथि उठ्न सकिरहेको छैन ।

यस्तो अवस्थामा भारतले दक्षिण एसियाली नीतिमा समयसापेक्ष पुनरावलोकन गरी आमुल परिर्वतन ल्याउनु नै बढी श्रेयष्कर देखिन आउँछ । यसका लागि तत्कालको उपकरणका रुपमा सार्कको विकल्पमा अघि सारिएको बिम्स्टेकलाई प्रभावकारी बनाउनु अति नै जरुरी हुन आएको छ ।

दक्षिण एसियामा भारतको प्रमुख चुनौती उसको छिमेकी देश चिनियाँ कुटनीति नै हो । यसले चीनभन्दा पहिले दक्षिण एसियामा अमेरिका, युरोपेली भुमिकालाई पनि मध्यनजर राख्नु उत्तम हुन्छ ।

पचासको दशकमा पाकिस्तान अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुनु र श्रीलङ्कामा अमेरिकी लगानी र भूमिका हुनु यसको प्रतिनिधि उदाहरण हुन् । पछिल्लो समयमा चिनियाँ अर्थतन्त्रको आकार भारतीय अर्थतन्त्रको आकारभन्दा पाँच गुणा ठुलो हुनुले आएको नयाँ शक्ति सन्तुलनमा बि.आर.आई. परियोजनाको आवरणमा दक्षिण एसियाली देशमा चीनको प्रचूर लगानी हुन थालेको छ ।

चीनको लगानीमाथि पश्चिमा लगायत धेरै देशहरुले प्रश्नको घेरामा राखे पनि यो अहिले अघि बढिरहेको छ । चीनको लगानीमा स्वभावैले चिनियाँ कम्युनिष्ट पार्टीको महत्वाकाङ्क्षा बिम्बित भइरहेको छ ।

श्रीलङकामा हम्बनटोटा बन्दरगाहको निर्माणपछि त्यसमा भएको लागतको ब्याज समेत तिर्न श्रीलङका असमर्थ रहेको समाचार आइरहेको छ । हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि चीनियाँ मातहतमा गएको अवस्था छ । ‘सिपेक’ परियोजनामा पनि यही परिदृष्य दोहरिन सक्छ ।

६५ बिलियन अमेरिकी डलर लगानी भएको पाकिस्तान कोरिडोरको निर्माणपछि उक्त योजना चिनियाँ पोल्टामा जानसक्ने सम्भावना पनि रहिरहेको छ । युगान्डाको विमानस्थल चीनको मातहतमा आइसकेको छ ।

नेपालको प्रस्तावित रेल योजनाको लागत नेपालको अर्थतन्त्रको आकारभन्दा ठुलो रहेको जानकारको आँकलन रहेको छ । यस अवस्थामा प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार भारतले आफ्नो धर्म, संस्कृति, ज्ञान र विज्ञान (सफ्ट पावर) बाहेक पूर्वाधार र परियोजनालाई परिचालन गर्न दक्षिण एसियाली देशहरुलाई केन्द्रविन्दु बनाउनु पर्दछ ।

सांस्कृतिक समरुपता, भाषा र सामाजिक सम्बन्धको भुइँ टेकेट विकासको सहयात्रामा दक्षिण एसियाली देशहरुलाई साथ लिएर जानु भारतको परराष्ट्र नीतिको उद्देश्य हुनु पर्दछ । दक्षिण एसियामा हरेक देशले चिनियाँ कार्डलाई कूटनीतिको अस्त्र बनाएका छन् ।

बाङ्गलादेशलाई हतियार खरिदको लागि भारतले ५०० मिलियन अमेरिकी डलर सहयोग गरे तापनि बाङ्गलादेशले हतियार चीनबाट खरिद गरेको छ । । बाङ्गलादेशको बाध्यता पनि आफ्नो ठाउँमा हुनसक्छ ।

भारत र चीनको सम्बन्धको पराकम्पन दक्षिण एसियामा मात्रै नभई अन्तर्राष्ट्रिय रंगमन्चमा पनि हेर्न पाइन्छ । गलवानमा सैनिक तनाव, मालावर सैनिक अभ्यासमा भारतको सहभागिता, कर्वाडमा सक्रियता, फाइव–जी लगायत विभिन्न चिनियाँ प्रविधि र लगानी बहिष्करण, यसका व्यक्त अभिव्यक्ति हुन् ।

नेपाल–भारत सम्बन्धको बारेमा भारतका पूर्वराजदुत मञ्जित पुरीले केही मौलिक मुद्दाहरूलाई उठान गरेका छन् । बदलिदो परिवेशमा नेपालका मध्यम वर्गीय समाजको आकाङ्क्षा र भावनालाई सम्बोधन गर्न भारतले दीर्घकालिन नीति लिनु पर्ने उनको तर्क रहको छ ।

नेपाली अर्थतन्त्रले केही आकार लिने बित्तिकै भारतसँगको मैत्रीमा आमुल परिर्वतन हुने सङ्केत पुरीले गरेका छन् । पुरीले पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान, नेपाल लगायत देशहरुको वैश्विक मुद्दाहरूमा पनि प्रकाश पारेका छन् ।