पश्चिमा देशमा नागरिक शिक्षा उच्च प्राथमिकतामा रहेको पाइन्छ । यो एक अनिवार्य शिक्षाका रुपमा लागु भएको छ । जनता सतप्रतिसत शिक्षित छन् । विद्यालयतहदेखि नै नागरिक शिक्षाको विषयबस्तुलाई पाठ्यक्रममा समावेस गरिन्छ । यसले समाजलाई प्रशिक्षित गर्दछ ।
क्षेत्र व्यापक भएको नागरिक शिक्षा लोकतान्त्रिक मूल्य मान्यताको समुच्च अध्ययन हो । यसले समाजका विभिन्न तह, वर्ग र क्षमताका जनतालाई आ–आफ्नो काम, कर्तव्य, अधिकारका बिषयमा ज्ञान दिलाउँछ ।
शिक्षाशास्त्री गुटम्यानले लोकतान्त्रिक देशका जनताले राजनितिक ज्ञानबाट प्रशिक्षित हुनको लागि नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ, भनेका छन् । यसरी हेर्दा नागरिक शिक्षा प्रजातान्त्रिक आचरण निर्माण, लोककल्याणकारी भावनाको विकास एवम् आफ्नो र अरुको हक, अधिकार र कर्तव्यबोध गराउने अध्ययनको क्षेत्र हो ।
शिक्षाविद स्मिथले नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रुपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत भनेका छन् । घर, परिवार, राजनितिक संगठन, नागरिक समाज लगायतका अनौपचारिक एवम् अनौपचारिक संघ संस्थाहरुमा संलग्न हरेकमा लोकतान्त्रिक आचरण, सरल, उदार एवम् मानवीय व्यबहार आवश्यक हुन्छ ।
हरेक व्यक्तिमा एक आपसमा मिलेर काम गर्न, आफ्ना विचार अरुलाई सप्रेषण गर्न र अरुका असल कुरा धैर्यपूर्वक सुन्न तथा ग्रहणगर्न सक्ने क्षमता विकासको लागि नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ ।
नागरिक शिक्षाले व्यक्ति एवम् समाजलाई आत्मकेन्द्रित चिन्तनबाट बाहिर निस्कन मद्दत गर्दछ । हाम्रा देशको सन्दर्भमा राज्य सञ्चालकमा आत्मकेन्द्रित चिन्तनले ग्रस्त छन् ।
राज्यका संयन्त्र तथा सर्वसाधारणमा नागरिक शिक्षाको चेतना अत्यन्त कमसल भएको अवस्था छ । लोकतन्त्रको अभ्याससँगै समाज खुल्ला भए पनि समाजमा लोकतान्त्रिक आचरण, आत्मअनुशासन र कर्तव्यको पालना कमजोर हुँदै गएको छ ।
एकातिर मुलुकमा अझै पनि एक तिहाई जनसंख्या निरक्षर छभने अर्कोतिर शिक्षितहरु पनि नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित छैनन् । राज्यले नागरिक शिक्षाको विषयलाई विद्यालयतहदेखि उच्चतहसम्म पठनपाठनमा समावेस गरेको छैन ।
आजका विद्यालयतहका बालबालिका नै भोलिका कर्णधार भएकाले विभिन्न उमेर समूहका बालबालिका तथा किशोर किशोरीलाई सानै उमेरदेखि आफ्नो काम, कर्तव्यको बोध गराउनु जरुरी छ ।
यसो भएमात्र व्यक्ति एवम् समाज सभ्य, शिष्ट, सुसंस्कृत एवम् कर्मशील बन्न सक्दछ । आपसी सद्भाव, प्रजातन्त्रिक आचरण र सामाजिक दायित्वको बोध भएका नागरिक नै लोकतान्त्रि राज्यका गहना हुन् ।
समाजमा शान्ति, सद्भाव, सहयोग र परोपकारी भावनाको विकासले मात्र सभ्य र सिर्जनशील समाजको निर्माण हुन सक्दछ । नागरिकमा प्रजातान्त्रिक आचरण, असल स्वभाव, उदार व्यबहार र इमानदार चरित्रको विकास हुन नसक्दा जातिय, वर्गीय, क्षेत्रिय लगायतका विभेद व्याप्त छन् ।
२०७२ को संविधान अन्तरगत मुलुक गणतान्त्रिक राज्य व्यबस्थामा प्रवेश गरिसकेको छ । राज्यको पुनर्संरचनामा केन्द्रीय सरकार, ७ वटा प्रदेश सरकार तथा ७५३ वटा स्थानीय सरकारहरु बनेका छन् ।
यी सरकारका काम, कर्तव्य र अधिकारका बारेमा जनताले बुभ्mन सकेनन् भने उनीहरु कानुनले प्रदान गरेका हक, अधिकार र सुविधाहरु उपयोग गर्न सक्दैनन् ।
नागरिक शिक्षा देशको संविधान, व्यबस्थापिका, कार्यपालिका, न्यायपालिकालगायत संवैधानिक अङ्गहरुको ज्ञान आर्जनको स्रोत भएकाले एकातिर राज्यले विद्यलयतहदेखि नागरिक शिक्षाको विषयलाई पाठ्यक्रममा समावेश गर्नु पर्दछ ।
अर्कोतिर विद्यालय शिक्षाबाट बञ्चित भिन्न उमेर समूहका जनतालाई हरेक पालिकामा अभियानको रुपमा नागरिक शिक्षाका तालिमहरु सञ्चालन गर्नु पर्दछ । समाज सुसुचित नभएसम्म लोकतन्त्रको विकास हुन सक्दैन ।
त्यसैले लोकतन्त्र र नागरिक शिक्षा एक अर्काका परिपूरक हुन् । लोकतन्त्रको अभ्यास जीवनमा अनुभूति गर्नका लागि आमजनतामा यसका सामान्य मूल्य र मान्यताहरुको जानकारी हुन आवश्यक हुन्छ ।
अहिले हाम्रो देशमा मिश्रित निर्वाचन प्रणाली छ । समाजमा रहेका पिछडा वर्ग, सिमान्तकृत, महिला, मुस्लिम, जनजाति लगायतको राज्यमा सहभागिता बनाउने उद्देश्यका साथ मुलुक राजनीतिक रुपले समावेसी समाज निर्माणको मार्गमा अग्रसर भएको छ ।
तर लक्षित वर्ग सुविधाविहिन छ । वेखबर छ । आमजनता सचेत नभएसम्म राज्यले प्रदान गरेको सविधाको उपयोग गर्न सक्दैनन् । न्याय पाउन सक्दैनन् । समाजका लक्षित वर्गहरुका केही टाठाबाठाहरुले राजनीतिक फाइदा लिएको अवस्था छ ।
किरात, लिच्छवी, मल्ल, शाह कालभन्दा अहिले समय बदलिएको छ । समाजका चाहाना र आवस्यकता परिवर्तन भएका छन् । विकासको आवश्यकता खड्किएको छ । तर हाम्रो राजनीतिक चिन्तन र समाजको चेतनामा पुरानै शैलीको छ ।
त्यसैले राज्य र समाजको आपसी सबन्ध सौहार्दपूर्ण बन्न सकेको छैन । राज्य जनमुखी छैन । जनताहरु राजनीतिक दलका मतदाताका रुपमा प्रयोग भएका छन् ।
समाजका बौद्घिकहरु पनि राजनीतिक कित्तामा बाँडिदा जनआवाज कमजोर भएका छन् । उल्लेखित अवस्थाको सिर्जना हुनुमा समाजको हरेक वर्ग नागरिक शिक्षाको ज्ञानबाट प्रशिक्षित नहुनु हो ।
लोकतान्त्रका कारण जनताले राजनीतिक दलका प्रतिनिधि राज्यसत्तामा पठाउने काम गर्दछन् । संविधानले १८ बर्ष पुगेका नागरिकलाई मतदानको अधिकार दिएको छ ।
तर २०४८ सालको आमनिर्वाचनदेखि अहिलेसम्म दलका प्रमुख पदमा एउटै अनुहार जनताबाट निर्वाचित भएको अवस्था छ । एकातिर समाजमा राजनीति नेतृत्वदेखि असन्तुष्ट बढ्दै गइरहेको छ ।
अर्कोतिर हरेक निर्वाचनमा मतदाताले उनै पुराना दल वा अक्षम नेता विशेषलाई निर्वाचनमार्फत् सत्तामा पुराइरहेका छन् । मतदातामा रहेको नागरिक शिक्षा र ज्ञानको अभावका कारण यसो हुन गएको हो ।
संविधानले समाजका विभिन्न जात, जाति, वर्ग, समुदाय, दलित, महिला, जनजाति तथा फरक क्षमता भएका नागरिकका हक, अधिकारलाई सुनिश्चित गरेको छ । यही वर्ग साधारण शिक्षाबाट बञ्चित छ ।
समाजका लक्षित वर्गका केही टाठाबाठाले राजनितिक फाइदा लिएको भए तापनि आमजनता सुविधाविहीन छन् । बेखबर छन् ।
संविधानले व्यबस्था गरेका प्रदेश व्यवस्थापिका, स्थानीय व्यवस्थापिका, नगरपालिका, गाउँपालिका तथा यी स्थानीय तहहरुले प्रदान गर्ने जनताका सेवा तथा सुविधाहरुको बारेमा जनता प्रशिक्षित छैनन् ।
संविधानले राष्ट्रिय महिला आयोग, समावेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सुरक्षासम्बन्धी व्यबस्था गरेको छ । परन्तु जुन वर्गलाई संविधानले हक, अधिकार र संरक्षणको व्यबस्था गरेको छ, त्यो समुदाय नै अनभिज्ञ छ । त्यसैले समाजिक रुपान्तरण हुन सकेको छैन ।
एक्काइसांै सताब्दीमा लोकतन्त्रको आधार सचेत समाज हो भन्नेमा दुईमत छैन । व्यक्ति एवम् समाजको खुला विचारहरुको अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतान्त्रिक अभ्यास हो ।
तथापि समाज जागरित नभएसम्म न त राज्य जनताप्रति जवाफदेही हुन्छ न त लोकतन्त्रको अभ्यास जन स्तरसम्म पुग्न सक्दछ । अहिले आत्मकेन्द्रित चिन्तनका दासका रुपमा कार्यगर्ने राजनीतिक नेतृत्व र यिनीहरु पछाडि लाग्ने अन्धभक्त कार्यकर्ता नागरिक राजनितिक भाँडभैलोका उत्तेजक झुण्ड भएका छन् ।
यस सन्दर्भमा व्यक्ति, समाज र सिङ्गो सामाजिक संरचनालाई स्वच्छ विचार विमर्स गर्न सक्ने तार्किक क्षमताको विकासको लागि नागरिक शिक्षाकोे ज्ञान चाहिन्छ । व्यक्ति–व्यक्ति मिलेर समाजको निर्माण हुन्छ ।
समाजको सामुहिक आश्रयस्थल भनेकै देश हो । नगरिक शिक्षाले हरेक व्यक्तिमा देशप्रतिको माया, इतिहासको गौरवको अनुभूति, सार्वभौमिकताको रक्षा, राष्ट्रिय भावनाको जागरण, स्वदेसीपनको भावनात्मक विकास गराउन भुमिका खेल्दछ ।
कुनै पनि व्यक्ति अमुक राजनितिक आस्थाको समर्थक, भौगोलिक क्षेत्रको बासिन्दा वा साम्प्रदायिक समूहको सदस्य हुनुभन्दा पहिले ऊ आफ्नो देशको नागरिक भएकोमा गर्व गर्न सक्ने भावनाको विकास गराउन नागरिक शिक्षाको ठूलो भूमिका हुन्छ ।
यस दृष्टिकोणबाट हेर्दा राष्ट्रिय एकता र सामाजिक सद्भावको विकासमा पनि नागरिक शिक्षाले भूमिका खेलेको हुन्छ । त्यसैले लोकतन्त्र र नागरिक शिक्षाको अन्तरसम्बन्ध हुन्छ ।