काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट ‘आसरा दर्पण’ को विमोचन गरिएको छ ।
महानिरीक्षक क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार आयोजित एक समारोहबीच केन्द्रको वार्सिक प्रकाशन विमोचन गरिएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्री एवम् केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले केन्द्रलाई महत्वपूर्ण योगदान पुर्याएका केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव श्रीमती रम्भा लामालाई सम्मानपत्र प्रदान गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यकारिणी समितिका पदाधिकारीलाई सम्मानपत्र, केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन महाशाखा महाराजगंज, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र चिकित्सक तथा चिकित्सा मनोविद समेतलाई प्रशंसापत्र एवम् केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदातालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे ।
उक्त अवसरमा केन्द्रकी उपाध्यक्ष श्रीमती वविता पालले महिला आसरा सुधार केन्द्र तिलगंगामा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार वितरण गरेकी थिइन् भने केन्द्रकी सचिव श्रीमती रिता श्रेष्ठले आन्तरिक खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा केन्द्रमा उपचाररत सदस्यहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।