• बैशाख २८ २०८३, सोमबार

संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ।

नरेशमाथि सोधपुछ भइरहेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएको र अनुसन्धानबाट थप नयाँ तथ्य खुल्ने आकलन गरिएको बताइएको छ।

प्रहरीले नरेशको साथबाट हत्या गरिएकी ३२ वर्षीय रञ्जना कार्कीको मोबाइल समेत बरामद गरेको छ । नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।

लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।