संखुवासभा । संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा पक्राउ परेका आरोपीले लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् ।
मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डबारे आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् ।
कार्कीले सुरुमा तेजबहादुर कार्कीको हत्या गरेका थिए । तेजबहादुरको हत्या गरेको अरुले देखेपछि उनकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई एउटै चिर्पटले हानेर हत्या गरेको स्वीकार गरेका हुन् ।
हजुरआमा र आमाको हत्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई लखेटी लखेटी हत्या गरेको उनको भनाइ छ । पाँचजनाको हत्यापछि घर पुगेर भैंसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको भित्ता ठोक्काउँदै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बिसीले जानकारी दिए ।