• बैशाख २८ २०८३, सोमबार

ऊर्जामन्त्री भुसाल र एमसिसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच शिष्टाचार भेटवार्ता भएको छ। । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनको विषयमा छलफल भयो ।

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसिसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन् ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रही आएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसिसीका सन्दर्भमा राजनीतिक सहमती र जनताको चाहना अनुसार नै निष्कर्षमा पुगिने बताइन् । उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीसहितको सहभागीता थियो ।