• बैशाख २८ २०८३, सोमबार

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको १०८औं जन्मजयन्ती

भाद्र २४ २०७८, बिहीबार

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए ।

भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो । साहित्य लेखनमा पनि कोइरालाको त्यत्तिकै योगदान रहेको छ ।