पोखरा । गण्डकी प्रदेश सरकारले विपदमा निधन र बेपत्ता भएका परिवारलाई प्रतिव्यक्ति रु एक लाख सहयोग दिने गरी कार्यविधि बनाएको छ ।
यसैगरी खाद्यान्नका लागि रु १५ हजार, अस्थायी आवासका लागि रु २५ हजार र उपचार खर्च रु ५० हजारसम्म प्रदेश सरकारले दिन सक्ने कार्यविधिमा उल्लेख छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत वितरणको काम हुने र त्यसका लागि प्रदेश सरकारबाट रकमसमेत पठाइसकेको बताइएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको आकस्मिक बैठकमा उनले बाढी पहिरामा परेकालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमितरुपमा लिन प्रमुख सचिवलाई निर्देशन पनि दिए ।