• बैशाख २८ २०८३, सोमबार

तुइन प्रकरणपछि भारतीय हेलिकप्टरद्वारा बैतडीमा मनोवैज्ञानिक आतङ्क मच्चाइँदै

भाद्र १८ २०७८, शुक्रबार

काठमाडौँ। तीन दिनदेखि भारतीय हेलिकप्टर नेपालको भूमिमाथि विना इजाजत घुमिरहेको छ । सुदूर पश्चिम बैतडीको सीमा इलाकामा अनावश्यक उडान भर्दै भारतले हेलिकोप्टर आतंक सिर्जना गरिरहेको छ ।

स्थानीयले यसलाई भारतले सिर्जना गरेको मनोवैज्ञानिक आतंकका रुपमा लिएका छन् । तर पनि नेपाल सरकार यसबारेमा चुँसम्म बोलेको छैन ।

एक महिना अघि साउनमा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर नेपाली युवा जयसिंह धामीलाई कर्णालीको उर्लंदो भेलमा खसाली बेपत्ता पारिदिएपछि उनको खोजी कार्यमा जुटेको छानबिन समितिले प्रतिवेदन नेपाल सरकारलाई बुझाएलगत्तै भारतीय हेलिकप्टर आतंक सुरु भएको हो ।

वैदेशिक रोजगारका लागि भिसा आएको खबर पाउने बित्तिकै सदरमुकाम जान साउनको उर्लंदो भेलमा तुइन तरिरहेका नेपाली युवा धामीको भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ तुइनको लठ्ठा खुस्काइदिंदा निधन हुन पुगेपछि त्यसको चर्को विरोध हुँदै आउँदा गृहमन्त्रालयबाटै उक्त छानबिन समिति गठन गरिएको थियो ।

उक्त छानबिन समितिले दार्चुला पारिपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिले उक्त प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामाथि आकाशमा हेलिकप्टर उडाउँदै मनोवैज्ञानिक आतंकको खेती गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा दार्चुला सदरमुकाम खलंगा र ब्यास गाउँपालिकामा क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उड्ने गरिरहेको छ ।

यस्तोखाले मनोवैज्ञानिक आतंक तुरन्त रोक्न दार्चुलाका प्रजिअ सिद्धराज जोशीले भारतीय समकक्षीसमक्ष पत्राचार गरी उक्त अवाञ्छनीय कार्य रोक्न आग्रह गरिसकेका छन् । तर सोको सुनुवाई अहिलेसम्म भारतीय पक्षबाट हुन सकिरहेको छैन ।

भारतले तीन दिनदेखि खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाउने कार्यमा निरन्तरता दिइरहेको छ ।

सीडीओ जोशीले पिथौरागढस्थित भारतीय प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी अकडा आपत्ति जनाए पनि गृह मन्त्रालय भने चूपचापको अवस्थामा छ ।

नेपाली सेनाको दार्चुलास्थित गुरु गोरख गुल्मले आफ्नो जंगी मुख्यालयलाई यसबारे समयमै जानकारी गराइसकेको बताएको छ ।