• बैशाख २७ २०८३, आईतवार

दार्चुला तुइन घटना : छानविन समितिले बुझायो प्रतिवेदन,भारतीय एसएसबीकै संलग्नता 

भाद्र १५ २०७८, मंगलवार

काठमाडौं । दार्चुलामा नेपाली युवक तुइनबाट महाकाली नदीमा खसेको विषयमा छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । उक्त समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।