• बैशाख २७ २०८३, आईतवार

काठमाडौँको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग

भाद्र १५ २०७८, मंगलवार

काठमाडौँ। काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ।

मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले यस्तो निर्णय गरेको हो।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘हामीले गर्न सक्ने स्थानीयका समस्या भए हामी समाधान गर्छौ। हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।’

उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको साथै स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए।

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको बताए।

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने चेतावनी दिए ।

‘फोहोर नगरपालिकाले उठाउँछ। स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु। उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला। कसले सम्वोधन गर्ने हो छलफल गरेर अघि बढ्छौं। तर, अवरोध गर्ने भन्ने हुन्न। हामी सकेसम्म सम्झाइ–बुझाई गरेर शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ। भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ।’

काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए ।