काठमाडौं । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । मन्त्रिपरिषद् विस्तार गर्नेबारे देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।
देउवा, प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधव नेपालले आइतबार मन्त्रिपरिषद् विस्तारबारे भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद् विस्तारबारे चौतर्फी आलोचना र अनेकन् टीकाटिप्पणी भैरहेको बेला उनीहरूले आपसमा भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा दलहरूको आन्तरिक तालमेल नमिलेपछि तत्काल मन्त्रिपरिषद् विस्तार गर्न थप केही दिन लाग्ने स्रोत बताउँछ ।
यसअघि माधव नेपाल नेतृत्वको नवगठित दल दर्ता भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको थियो । नेपाल नेतृत्वको नयाँ दल नेकपा (एस)को दर्ता प्रक्रिया पनि पूरा भइसकेको छ । तर, दलहरूले हालसम्म मन्त्रिपरिषद् विस्तार गर्न भने सकेका छैनन् । मन्त्रीपदका आकांक्षी धेरै भएकाले उनीहरूको व्यवस्थापन पश्चात् मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारबारे प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग बारम्बार भेटवार्ता र छलफल गर्दै आएका छन् । तथापि दलहरूको आन्तरिक तालमेल नमिलेपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारमा पर्न गएको दलका नेताहरू बताउँछन् । उनीहरूको भनाइलाई आधार मान्ने हो भने गठबन्धनका शीर्ष नेताहरूको संयुक्त भेटवार्ता नै नभएकोले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवा, प्रचण्ड र नेपालले मात्रै निर्णय गरेर सम्भव नहुने भएकाले सरकारको पूर्णताबारे ढिलाइ भएको हो । गठबन्धनका अर्का नेता तथा जसपा अध्यक्ष उपत्यका बाहिर भएकाले थप ढिलाइ भएको छ । उनी काठमाडौं आउने बित्तिकै छलफल गरि मन्त्रिपरिषद् विस्तार हुने बुझिएको छ ।
सरकार सञ्चालनका लागि काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलका अनुसार, ‘गठबन्धनका सबै नेताहरूको १४ गते संयुक्त बैठक बस्ने छ र सरकारले पूर्णता पाउने विषयमा १५ गतेसम्म टुंगो लाग्ने छ, त्यसका लागि संयुक्त गठबन्धनका दलहरूले आन्तरिक छलफल र तयारी गरिरहेका छन् ।’
आइतबार नेकपा (एस)को संसदीय दलको नेतामा चयन भए पश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले भने, ‘मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरूभित्र छलफल र परामर्श चलिरहेको छ, अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण दलहरू महाधिवेशन, आन्तरिक छलफल र पार्टी विस्तारमा लाग्नु भएको छ । यो सबै कारणले गर्दा यस्तो स्थिति बनेको हो । अब छिट्टै यसको पनि निराकरण हुनेछ । अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पार्टीबाट मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नहुने बताएका छन् । ‘काँग्रेसले आन्तरिक छलफल र परामर्श गरिसकेको छ । हाम्रो तर्फबाट सरकारलाई पूर्णता दिनेबारे कुनै दुविधा छैन । तर, नेकपा (एस) र जसपाका साथीहरूले हालसम्म पनि निर्णय गर्नसक्नु भएको छैन । उहाँहरू छलफलकै क्रममा हुनुहुन्छ । सायद केही दिनमै यसको निकास हुन्छ र सरकारले पूर्णता पाउने छ,’ खड्काले भने ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले भने, ‘मन्त्रिपरिषद् विस्तारबारे आफ्नो पार्टीमा छलफल भएको छैन । यसबारे आफूहरूले केही दिनमै टुंगो लाउने र मन्त्रालय बाँडफाँडको विषयमा टुंगो लागेपछि मात्रै जसपाबाट मन्त्रीहरूको नाम तयार हुन्छ । अहिले अध्यक्षज्यू काठमाडौं भ्याली बाहिर हुनुहुन्छ । उहाँ आउने बित्तिकै हाम्रो तर्फबाट पनि फाइनल डिसिजन हुन्छ ।’
त्यस्तै महन्थ ठाकुर नेतृत्वको नवगठित दल लोसपा भने सरकारमा सहभागी हुने वा नहुने टुंगोमा पुगेको छैन । उसले यस विषयमा हालसम्म पनि ठोस निर्णय लिन सकेको छैन । आफूहरूलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाले कुनै प्रस्ताव नगरेकाले तत्काल के गर्ने भन्नेमा अलमल परेको एक नेता बताउँछन् ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै मन्त्रिपरिषद् विस्तारबारे दलका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरिरहेको उनको सचिवालय स्रोत बताउँछ । शनिबार देउवाले प्रचण्डसँग भेटवार्ता गरेका थिए भने आइतबार नेकपा (एस)का अध्यक्ष नेपालसँग पनि सरकारको पूर्णताबारे छलफल गरेका छन् । उनीसँगको छलफल पश्चात् कानुनविद्हरूसँग पनि परामर्श गरिएको स्रोत बताउँछ । स्रोतका अनुसार नेताहरूले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गर्ने सम्बन्धमा पनि उनीहरूसँग परामर्श गरेका छन् ।
सर्वोच्च अदालतले दोस्रो पटक विघटित संसद् असार २८ मा पुनःस्थापित गर्यो र उसको परमादेशपछि असार २९ मा गठबन्धन सरकारको प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । संविधानअनुसार संघीय सरकारले २५ मन्त्रालय विस्तार गर्न पाउने व्यवस्था छ । तर, देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिनायता ६ सदस्यीय मन्त्रिपरिषद्ले देश चलाइरहेको छ । अहिले ५ दलिय गठबन्धनको सरकार छ । यसअघि संसद् पुनःस्थापनाको माग गर्र्दै ६ दलले संयुक्त गठबन्धन गरेका थिए । यद्यपि यसअघि नै राजमोले संसद्को पुनःस्थापनाका लागि गठबन्धनमा संलग्न भए पनि सरकारमा सहभागी नहुने बताइ सकेको छ ।