काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जल तथा ऊर्जा आयोगलाई नियमनकारी निकायका रूपमा ऊर्जा आयोगलाई विकास गरेर लैजानुपर्ने बताएका छन् ।
जल तथा ऊर्जा आयोगको सचिवालयको गतिविधिबारे आज जानकारी लिने क्रममा उनले जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताएकी हुन् । उनले भनिन्, “आयोगलाई नियमनको अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु ।”
कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले आयोगलाई जनशक्ति एवं आर्थिक स्रोत उपलब्ध गराएर कामका हिसाबले सक्षम बनाइने बताइन् ।
भूमिगत एवं सतहका जलस्रोत आयोगको क्षेत्र भएको उल्लेख गर्दै मन्त्री भुसालले नीतिगतरूपमा अध्ययन, अनुसन्धान र कार्यान्वयनका निकाय निर्धारित मूल्य मान्यताभित्र छन कि छैनन् भन्ने अनुगमन गरेर त्यसको नियमन गर्ने विषयलाई सबै ढङ्गले व्यवस्थित गराउनुपर्नेमा जोड दिइन् ।
आर्थिक स्रोत सबल भएका निकायले जलविद्युत् क्षेत्रमा लगानी गर्न तत्परता देखाएका प्रति मन्त्री भुसालले भनिन्, “स्रोत र साधन चलाउने रहरमात्र गरेर हुँदैन दक्षता पनि हासिल गर्नुपर्छ ।
जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले सरकार र निजी क्षेत्रबाट प्राकृतिक स्रोतमा सङ्कट पैदा हुँदै गएकाले आयोगलाई नियमनकारी निकायका रूपमा विकास गर्नुपर्ने बताए ।