• बैशाख २७ २०८३, आईतवार

सप्तकोशीमा यस वर्षकै उच्च वहाव, ३५ ढोका खोलियो

भाद्र १३ २०७८, आईतवार

काठमाडौँ। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लोपटक मापन गर्दा सप्तकोशीमा दुई लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

साउन ३२ गते कोशीमा यस वर्षकै बढी दुई लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो। पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ। पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्नसक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रलेसमेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आकलन गरिएको छ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमाआएको उतारचढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। नदीको वहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ।