काठमाडौं । विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अब अनलाइनबाटै हुने व्यवस्था भएको छ ।
यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी कन्सुलर सेवा विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
सेवाग्राहीलाई सहज र सरलतापुर्वक सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु गरेको विभागका महानिर्देशक धनबहादुर ओलीले बताए ।
अनलाइनमार्फत वा विभागको वेबसाइट मा गएर अनलाइन आवेदन गर्न सकिने बताउँदै उनले भरिएको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा सन्देश प्रवाह हुने र प्राप्त सन्देशका आधारमा सेवाग्राहीले राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सक्ने प्रबन्ध गरिएको जानकारी दिए ।
कनेक्ट आइपिएसबाट सोझै विद्युतीय भुक्तानी वा देशभरका ग्लोबल आइएमई बैंकका शाखामार्फत भौतिकरूपमा पनि राजश्व दाखिला गर्न सकिने महानिर्देशक ओलीले बताए ।