कहिलेकाहीँ हामी निदाउन सक्देनौं। हामीले जति कोसिस गरेपनि निन्द्रा पटक्कै लाग्दैन । यो समस्या प्राय सबै मान्छेहरुमा निकै बढेको छ।
निन्द्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोम्निया भनिन्छ।
यस्ता व्यक्तिलाई एन्जाइटी डिप्रेसनको समस्या हुँदैन। तर, बिहान उठ्दा तनाव भएझैं, आराम नपुगेको जस्तो र थाकेको जस्तो हुनुका साथै दिनभरी छटपटि हुन्छ। उसलाई खान पनि मन लाग्दैन भने सानो कुरामा पनि रिसाउँछ। यी सबै अनिन्द्राको कारणले हुन्छ।
धेरै समय सुतेको छ भन्दैमा निन्द्रा ठीक छ भन्न मिल्दैन। कोही मान्छे चार घण्टा सुतेर पनि एकदम फ्रेस भएको अनुभव गर्छन्। मान्छेको व्यक्तित्व र आनीबानीअनुसार कसैलाई धेरै सुत्न पर्छ, कसैलाई थोरै।
‘टाइप ए पर्सनालिटी’ भएकाहरु प्रायः कम सुत्छन्। उनीहरु धेरै महत्वकांक्षी हुन्छन्। ‘टाइप बी पर्सनालिटी’ भएका मान्छेहरु बढी सुत्ने हुन्छन्।
तर, शरीरलाई नपुग्ने गरी लगातार लामो समय अनिन्द्रा भए डिप्रेशन र एन्जाइटी बढ्न सक्छ।
निद्रा नलाग्ने मुख्य कारण के के हुन्?
नेपालबाट विदेशमा काम गर्न जानेले महिनौं यस्तो समस्या भोगेका हुन्छन्। यो समस्या बढ्दै गएपछि उनीहरुमा तनाव बढेजस्तो हुने, डर लाग्ने र मुटु काम्ने हुन थाल्छ। यही भयले कतिपय नेपाल नै फर्किएका पनि छन्।
डिप्रेसन हुँदा निन्द्रा लाग्दैन। दिक्क लाग्ने, निराश हुने हुँदै साँझ परेपछि मनमा कुरा खेल्न थाल्छन्। अनेक कुरा श्रृंखलाबद्ध रुपमा आइ नै रहन्छन्, जसले झनै दिमाग सक्रिय हुन्छ। अनि त सुत्न खोजे पनि निद्रा आउँदैन।
एन्जाइटीका कारणले पनि निन्द्रा लाग्दैन। सुत्ने बेला बत्ती निभायो, मन डराउन थाल्छ। मुटु ढुक–ढुक हुन्छ र सास फेर्न गाह्रो भएर निस्सासिएको झैं हुन्छ। अँध्यारोमा डराउने हुँदा एन्जाइटी भएको मान्छे सुत्न सक्दैन।
रक्सीको लत लागेकालाई पनि अनिन्द्रा हुने गर्दछ ।रक्सी नखाई नहुनु पनि मानसिक समस्या नै हो । रक्सी खाएर निदाउने बानी परेकाको नशा उत्रिन साथ निद्रा पनि उत्रिन्छ।