• बैशाख २७ २०८३, आईतवार

भावुक स्टाटस् लेख्दै पूर्वजनसेना कमाण्डर ‘बादल’ले छोडे माओवादी केन्द्र

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौं । लामो समयदेखि माओवादी आन्दोलनमा आवद्ध पूर्वमाओवादी जनमुक्ति सेनाकामा खगेश्वर घर्तीमगर ‘बादल’ले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् । उनी दाङको साविकको  काभ्रेका स्थायी बासिन्दा हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले माओवादी केन्द्र परित्याग गरेको जानकारी दिएका छन् । बादलले लामो फेसबुक स्टाटसमा आफूहरुले वर्गसंघर्षको मान्यतामा रहेर आफूहरुले युद्ध लडेको तर जनयुद्धलाई पुरानै व्यवस्थामा बिलिन गराइएको तथा आफ्ना सपनाहरु रद्धीको टोकरी बनाइएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बादलले माओवादी केन्द्र परित्याग गरेपनि आफू जनताको परिवर्तनको चाहना विपरित नजाने र क्रान्तिकारी निष्ठाप्रति कटिवद्ध रहने जनाएका छन् । बादल जनयुद्धका घाइते कमाण्डर हुन् । उनले दर्जनौं लडाईहरु लडेका छन् । उनले युद्धमा आँखा गुमाएका छन् । उनी जनयुद्धकालमै अन्तरजातीय विहे गर्ने एकजना परिवर्तन पक्षधर पनि हुन् ।

पढ्दा पढ्दैको कलिलो उमेरमा जनयुद्धमा लागेका बादल जनजाति समुदायबाट उदाएका इमान्दार नेता हुन् । राजनीति र जनताको परिवर्तनको यात्रामा उनले गरेका योगदानहरुले उनलाई यो यात्राबाट पलायन हुन त दिने छैनन् नै त्यसैमा पनि उनले जनताको क्रान्तिप्रतिको चाहना र उनी आफैपनि देश र जनताको हित हुने राजनीतिक लाइनमा रहेर काम गर्ने प्रतिवद्धताले उनलाई फेरिपनि यही यात्रामै रहने देखाएको छ ।

यस्तो बादलको फेसबुक स्टाटस् :

मार्क्सवादको सार्वभौम नियम वर्ग संघर्षलाई निरन्तरता दिनु हो । त्यही नियमलाई आत्मसात गर्दै म माओवादी जनयुद्ध कालदेखि भुमिगत भएर वर्गसंघर्षमा होमिदै आएँ । त्यो संघर्षमा देश र जनताको लागि भन्दै कयौं लडाईहरु लडियो अङ्गभङ्ग भइयो । लडाईको दौरान थुप्रै रगत, पसिना, भोक, निद्रा, दुःख–कस्ट व्यहोर्दै जीवनको उर्बर शक्ति सबै दान गरियो । समुन्नत नेपाल र स्वर्णिम जीवन समान र हक अधिकारको आसमा, तर ती सपनाहरु विस्तारै रक्षानमा रद्धीको टोकरीमा परिणत हुँदै जुन ब्यवस्थाको विरुद्ध लडेका थियौं तर त्यही ब्यवस्थामा बिलिनहुन पुग्यो । त्यो क्रन्तिसिपाही सर्वहारावर्ग वर्गसंघर्षमा विश्वास गर्ने जो कोहीलाई मान्य थिएन, हुँदैन । तसर्थ आजको दिनबाट मैले यो नेकपा माओवादी केन्द्रको सबै जिम्मेवारीबाट बिमुख भई पार्टी परित्यागको स्वघोषणा गर्दछु, यसबाट पर्न जाने केही समस्यामा आदरणीय जनसमुदाय, आदरणीय ब्यक्तित्व रक्तमुछेल सहयात्रीहरुमा क्षेमाचाहन्छु । साथै सदैब कम्युनिस्ट क्रान्तिकारी निष्ठा बिचारप्रति बफादार रहि सदैब सबै सबै क्रान्तिकारीहरुसङ्ग सहकार्य सहयात्रा गर्ने अठोट गर्दछु । धन्यवाद ।

उनको स्टाटसमा उनका धेरै साथीहरुले प्रतिकृया दिएका छन् । घनश्याम डाँगी लेख्छन्‘ यति लामो संघर्स र त्याग गरेर यसरी छोड्न नहुने । समस्या पार्टीमा छ तर हामीले छोड्ने होइन समाधान खोज्ने हो ।
हिमाल चौधरी लेख्छन्‘बाटो परिवर्तन गर्न सकिन्छ तर क्रान्तिको यात्रालाई बिट मार्नु हुदैन है कमरेड ? किनकी रगत र पसिना हाम्रो यो क्रान्तिमा बगेको छ ।’

बादलको पार्टी परित्यागप्रति धेरै नै प्रतिकृयाहरु आइरहेका छन् । आएका प्रतिकृयामध्ये धेरैले उनलाई क्रान्तिको यात्रा नछोड्न सुझाव दिएका छन् । उनीसित थप प्रतिकृया लिन खोज्दा उनको फोन उठेन ।
आज माओवादी आन्दोलन विभाजित अवस्थामा छ । बादले भनेझैं नेतृत्वले जनयुद्धका उपलब्धिलाई पुरानै व्यवस्थामा मिसाइदिएपछि जनयुद्धको नामो निसान मेटिएको हो ।

आज मानिसहरु माओवादी नेतृत्वले शान्तिप्रकृयामा आएसँगै कम्तिमा सेना र कार्यकर्ताको उचित व्यवस्थापन, घाइते, अपाङग र शहिद परिवारहरुको जीवनयापनको ग्यारेन्टी गर्नुपर्थ्यो भनिरहेका छन् । त्यो कुरा कार्यकर्तालाई उतिबेलै लागेको कुरा हो । तर यतातिर नेतृत्वले वास्तै गरेन ।

आफ्ना मानिस र आफूले स्थापना गरेका सबै संरचनाहरुलाई जीवित राखी उचित तरिकाले परिचालन गरेको भए माओवादीले काितमा चुनावमा पराजय भोग्नु पर्ने थिएन । यी र यस्ता धेरै कुराहरुमा सो पार्टीमा रहेका क्रान्तिकारीहरुले लामो समयसम्म संघर्ष गरे । तर मुल नेतृत्वको समूहले यो कुरामा बेवास्ता गर्दै गयो र अन्तिममा माओवादी पार्टी विभाजन भयो ।

विभाजनको असर आज नेपाली समाजमा स्पष्ट देखिएको छ । हिजोका सहयोद्धाहरु आज दुस्मन जस्ता भएका छन् । हिजोका केही सहयोद्धाहरु महलमा बसेका छन् भने धेरै योद्धाहरु बिजोगको जिन्दगी बाँच्न विवश छन् । कोही खाडीको तातो घाममा कामदार बन्न बाध्य भएका छन् ।

यस्ता पीडाको पेटाराहरु धेरै नै छन् जसलाई खोलेपछि सम्हाल्न गाह्रो हुन्छ र हो आज बादलको पार्टी परित्याग पनि यसै पीडासित जोडिएको विषय हो । माओवादी आन्दोलनको पुरानो नेतृत्वले त यो कुराको सम्बोधन गर्नेवाला छैन ।

तर मूल नेतृत्वले गरिखाएन भनेर नयाँ बाटो बनाएका क्रान्तिकारीले बादल जस्ता त्यागी र बलिदानीको सिसिलामा रहेका कमाण्डरहरुलाई समेटेर अबको नेपालको राजनीतिको नयाँ यात्रामा समेट्न सक्लान् ? प्रश्न सबैका सामु उभिएको छ ।