• बैशाख २७ २०८३, आईतवार

मकवानपुरमा बस दुर्घटना : एकको मृत्यु , १८ जना घाइते

भाद्र ३ २०७८, बिहीबार

हेटौंडा। मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै ओरालोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने बस चालक ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा  मृत्यु भएको हो ।

काठमाडौंबाट रौतहटको बंकुलतर्फ आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस  ब्रेक फेल भएर अनियन्त्रित हुँदा हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस सडकमै पल्टिन पुगेको थियो । बीच सडकमा बस पल्टिदा केही समय सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।

दुर्घटनामा परी घाइते भएका बारा कोल्हवी नगरपालिका–११ बस्ने २२ वर्षीय बिहारीलाल चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको हात, टाउको र मुखमा चोट लागेको छ । अर्थोपेडिक अस्पताल हेटौंडामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ३५ वर्षीये इन्द्रबहादुर कार्कीको अवस्था भने मध्यम छ ।

बाँकी घाइतेको हेटौंडाकै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक, सहचालक समेत गरी २८ जना यात्रु सवार थिए ।