काठमाडौं । नेपाल प्रहरीले वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर चलाएकोमा चार महिनामा आठ लाख बढी मास्क वितरण गरेको छ ।
मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको अभियान चलाएको हो।
त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क निःशुल्करुपमा वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ । ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियान कै रुपमा सञ्चालन गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ४२० जनालाई रु ४५ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पाँच हजार ११९ लाई सचेत गराइएको, देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको १६६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत २४ हजारलाई प्रशिक्षित गराइएको छ ।