• बैशाख २७ २०८३, आईतवार

कम्बोडिया पठाइदिन्छु भनि ३९ लाख ठगी गर्ने तामाङ पक्राउ

श्रावण ३२ २०७८, सोमबार

काठमाडौँ । कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगि गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको समूहले भिजिट भिषामा कम्बोडिया पठाइदिन्छु भन्दै ६ जनालाई ठगि गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका वडा नं १ गोकुले घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका फुटुङ बस्दै आएका वर्ष २८ का मिनध्वज भनिने विचारमान मोक्तान रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बताएको छ ।

पक्राउ परेका मोक्तानले काभ्रेपलाञ्चोक पाँचखाल गाउँपालिका वडा नम्बर ८ चिसापानी बस्ने वर्ष ३६ का प्रेमबहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख पचास हजारका दरले पैसा लाग्छ कम्बोडिया पुगेपछि बोस गार्डमा काम लगाइदिन्छु भनि प्रलोभनमा पारी प्रेमबहादुर तामाङ सहित ६ जनाबाट ३९ लाख रकम लिई सम्पर्क विहीन भई ठगि गरेको आरोप लागेको छ ।

महानगरीय अपराध महाशाखाले बताए अनुसार वैदेशिक रोजगार विभागमा उजुरी परेकोले विभागले पक्राउ गरी बुझाउन पत्राचार गरेको आधारमा मोक्तानलाई पक्राउ गरिएको जानकारी दिएको छ । मोक्तानलाई आज साउन ३२ गते नयाँ बानेश्वरबाट पक्राउ गरी थापा अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाएको बताएको छ ।