काठमाडौं । अमेरिकी एमसीसीको मातहतमा रहेको एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ ।
नेपाल सरकारको लगानी र एमसीसीको अनुदान सहयोगमा एमसीए-नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत सबस्टेसनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ ।
उक्त सबस्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको एमसीए नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भविष्यमा नेपाल विद्युत प्राधिकरणले बनाउने सबस्टेसन पनि रहने गरी जग्गा अधिग्रहण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘यस क्रममा त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहण गरिएको हो । ती जग्गा एवम ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम विद्यमान कानुन र अन्तर्राष्ट्रिय वातावरणीय निर्देशिका एवम मापदण्ड अनुसार भुक्तानी गरिएको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।
सबस्टेसन निर्माणसम्बन्धी सम्पूणर् कार्य सरकारले गठन गरेको एमसीए-नेपाल विकास समितिले गरेको छ । विकास समिति ऐन, २०१३ ले दिएको अधिकार अनुसार आयोजनाका लागि आवश्यक सम्पूणर् चलअचल सम्पत्ति एमसीए-नेपाल विकास समितिले खरिद गर्ने र ती सम्पत्ति एमसीए-नेपालको नाममा मात्र दर्ता भएको छ ।
अनुदान अन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौताअनुरूप राख्न नमिल्ने जानकारी गराइएको छ । अधिग्रहण गरिएका जग्गा हाल अर्थ मन्त्रालय अन्तर्गतको एमसीए-नेपाल विकास समितिको नाममा रही निर्माण सम्पन्न भएपछि उक्त विकास समिति विघटन गरिएपश्चात उक्त सबस्टेसन, त्यहाँ निर्माण गरिएका अन्य संरचना र जग्गाको स्वामित्व सरकारको निणर्यबमोजिम नेपाल विद्युत प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायलाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।