काठमाडौँ । राजधानीको टोखा नगरपालिकामा बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध शिक्षक र अभिभावकसँग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका आठवटा सामुदायिक माध्यमिक विद्यालयका साथै वैकल्पिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको प्रतिनिधि मूलक सहभागितामा संवाद कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाका उप–प्रमुख ज्ञानुमाया डंगोलले टोखा नगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको बताइन् । नगरपालिकालाई बालमैत्री घोषणा गर्न २५ वटा सूचकहरू लागु गरिसकेको उल्लेख गर्दै उप–प्रमुख डंगोलले बालविवाह नगरपालिकामा समस्याको रुपमा रहेको जनाइन् । सुरक्षित रहन पाउनु बालबालिकाको पहिलो अधिकार रहेको धारणा व्यक्त गर्दै डंगोलले भनिन्, ‘मानव बेचबिखनबारे विद्यार्थी तथा अभिभावक सबै सजग हुनुपर्छ ।’

कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा खेलकुद तथा युवा शाखाका प्रमुख अधिकृत बाबुराम गौतमले अभिभावक र शिक्षक मिलेर बालबालिकाको भविष्य सुनौलो बनाउनुपर्ने धारणा व्यक्त गरे । संवाद कार्यक्रम शक्ति समूह नेपालको आयोजनामा सम्पन्न भएको थियो । संवाद कार्यक्रमको सहजीकरण शक्ति समूहका कार्यक्रम अधिकृत अधिवक्ता दिपक कोइरालाले गरेका थिए ।

संवाद कार्यक्रममा शक्ति समूहकी गरिमा श्रेष्ठले उपस्थितहरुलाई स्वागत गरेकी थिइन् । एकदिवसीय संवाद कार्यक्रममा तिलिङ्गटार माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ध्रुर्व अर्याल, टोखा नगरपालिका बाल क्लव संजालका अध्यक्ष बबिता परियार लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
हेरौं कार्यक्रमका थप तस्बिरहरु


