• बैशाख २७ २०८३, आईतवार

बैंकिङ कसूर मुद्दामा फरार अभियुक्त पोर्चुगलबाट पक्राउ,शनिबार नेपाल ल्याइयो

श्रावण ३० २०७८, शनिबार

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना अभियुक्त पोर्चुगलबाट पक्राउ परेका छन् ।

नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा उनलाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

काभ्रे भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा पक्राउ गरी साउन ३० गते नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ।

ढुंगाना सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देव विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप लागेकामध्ये एक हुन् ।

जिल्ला अदालत ललितपुरले नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा ढुगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन रहेको जनाइएको छ।

ढुंगानालाई भोलि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको बताइएको छ ।