• बैशाख २७ २०८३, आईतवार

रेडपाण्डाको अवैध कारोवार गर्ने तीन युवक पक्राउ

श्रावण २९ २०७८, शुक्रबार

कपिलवस्तु । रेडपाण्डाको अवैध कारोवार गर्ने झापाका तीन युवकलाई प्रहरीले कपिलवस्तुको वाणगंगाबाट पक्राउ गरेको छ ।

प्रहरीले वाणगंगा नगरपालिका वडा नं. ४ सिद्धीपुरस्थित बराल होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

पक्राउ पर्नेहरुमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले दुई वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर बरामद गरेको छ । विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीन जनालाई उनीहरुको साथबाट बरामद भएको छाला सहित प्रहरीले डिभिजन वन कार्यालयलाई कपिलवस्तुलाई बुझाएको छ ।

उनीहरुउपर राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्धा चल्ने डिभिजन वन कार्यालयले जनाएको छ । बरामद भएको छाला परीक्षणका लागि केन्द्रमा पठाउने तयारी भइरहेको र उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले बताए ।

ऐनअनुसार यस प्रकारको मुद्धामा दोषी प्रमाणित भए १० वर्ष कैद र ५ लाख रुपैया सम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको सहायक वन अधिकृत शाण्डिल्यले बताए ।