मुक्ति गैरे ।
नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको दशौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रियता, जनतन्त्र र जीविकाको पक्षमा संघर्ष गर्ने, नेपालको हित विपरीत हुन लागेको एमसीसी नेपाली राष्ट्र र जनताको हितमा नभएको हुँदा वर्तमान सरकारले सदनले पास गर्न लागेको हुँदा उक्त सम्झौता पास गर्नबाट रोक्न दवावमूलक संघर्ष गर्ने, हत्या, बलात्कार, भारतीय शासकको ज्यादतीका विरुद्धमा संघर्ष गर्ने समेत निर्यण गरेको छ ।
यस्तै बैठकले भ्रष्टाचारी, कालोबजारी, जातीय छुवाछूत, सामाजिक अपराधका विषयमा पनि संघर्ष गर्ने निर्यण गरेको छ । संसदीय व्यवस्थाले वर्तमान समस्याहरुको हल नगरेको कारणले यसको विकल्पमा पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति जनमत संग्रहलाई जनतामा पुर्याउन अभियान चलाउने समेत निर्यण गरेको छ ।
बैठक अध्यक्षता तथा संचालन जिल्ला इञ्चार्ज विवेक कुमालले गरेका थिए । उता पाल्पामा पनि नेकपाको भेला गरिएको छ । रिब्दीकोट गापाको प्रथम भेलाले आकाशलाई सेक्रेटरीमा चयन गरेको छ ।
आकाश सहिद परिवार हुन् । भेलाले १५ सदस्यीय गाउँपालिका स्तरीय समिति निर्वाचित गरेको छ । भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अपेक्षाले वैज्ञानिक समाजवादी व्यवस्थाको आधारभूत आधार, यसको नीति तथा कार्यक्रम र यसलाई प्राप्त गर्न पार्टीले अगाडि सारेको जनमत संग्रहका विषयमा प्रशिक्षण मुलक मन्तव्य राखेकी थिइन् ।
यस्तै जिल्ला सचिव प्रभातले पार्टीको एकीकृत जनक्रान्ति र वर्तमान सत्ताले अगाडि सारेको राष्ट्रिय अपराधका बारेमा धारणा राखे । राष्ट्रिय अपराधकारुपमा अहिले एमसीसी रहेकोले सरकारले यसलाई सदनबाट पास गर्न लागि रहेकोले रोक्नुपर्ने उनको भनाई रहेको छ । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु उपस्थित थिए ।