कपिलवस्तु । कपिलवस्तु जिल्लाको रंगपुर र आसपासका सीमा क्षेत्रहरु चामल तस्करीको केन्द्र बन्दै गएको छ ।
भारतबाट अवैध रुपमा लुकी छिपी सीमा क्षेत्र कटाई प्रहरीकै मिलोमतोमा यहां चामलको ठुलो तस्करी हुने गरेको छ । भारत सरकारले आफ्ना नागरिकहरुलाई अनुदानमा दिएको मोटा चामल र भारतीय कृषकहरुले उत्पादन गरेको मसिनो चामलको तस्करी मौलाएको सीमा क्षेत्रका सर्वसाधारणहरु बताउंछन् ।
नेपाल प्रहरी र शशस्त्र प्रहरीका घुमुवाहरुलाई मासिक रुपमा रकम घुस खुवाएर चामल व्यवसायीहरुले यस्तो काम अघि बढाएका हुन् । भारतबाट आउने मोटा चामललाई सीमा क्षेत्रका स्थानीय व्यवसायीहरुले २० भारतीय रुपैया र मसिनो चामल २४ भारतीय रुपैयामा खरिद गर्ने गरेका छन् ।
भंसार छलेर अवैध रुपमा आएको यस्तो चामललाई सीमा क्षेत्रका व्यवसायीहरुले आफ्नो फर्मको विल काटेर दैनिक जसो ट्कमा लोड गरी तौलिहवा, बुटवल, भैरहवा लगायतका बजारहरुमा पठाउने गरेका छन् । यस क्षेत्रबाट दैनिक ५ देखि ७ वटा ट्कहरुमा भंसार छलेर आएको यस्तो चामल लोड हुने गरेको छ । यसबाट दैनिक जसो नेपाल सरकारलाई ५० हजार देखि १ लाख रुपैया सम्म राजश्व नोक्सान भई रहेको छ ।
यसरी खुलेयाम चामल तस्करी हुदा समेत सीमा क्षेत्रमा रहेका प्रहरी चौकीका ईन्चार्जहरु मौन बस्ने गरेका छन् । घुमुवा प्रहरीहरुको सेटिंग र चौकी ईन्चार्जहरुसंगकै मिलोमतोमा यस्तो तस्करी मौलाएको सूचना प्राप्त भएको छ ।