• बैशाख २७ २०८३, आईतवार

प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि प्रहरीको प्रि–स्याट परीक्षा रद्द

श्रावण २८ २०७८, बिहीबार

काठमाडौँ। परीक्षा अगावै प्रश्न–पत्र लिक भएको पुष्टि भएपछि नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको ‘प्रि–स्याट परीक्षा’को प्रश्नपत्र ‘लिक’ भएको छानबिन समितिले पुष्टि गरेसँगै यसअघि लिइएको परीक्षा रद्द गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको युएन शाखाले साउन १५ र १६ गते चार सिफ्टमा आन्तरिक रुपमा प्रि–स्याटको परीक्षा लिएको थियो ।

प्रश्नपत्र चोरी भएको आशंका पछि डीआईजी वसन्तकुमार लामाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले प्रहरी महानरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाउँदै पुनः परीक्षा गर्नुपर्ने राय दिएको थियो ।

छानबिनका क्रममा युएन शाखाका परिचर सुरेश बमले प्रि–स्याटको प्रश्नपत्र परीक्षा अगावै चोरी गरेको पाइएको थियो । उनले साइबर ब्यूरोमा कार्यरत रहेका हवल्दार कुमार शाहको योजनामा प्रश्नपत्र चोरी गरेको बयान दिएका थिए ।

चोरीमा प्रत्यक्ष संलग्न भएको आरोपमा बम र शाहसँगै सई जनक थापालाई समेत सेवाबाट बर्खास्त गर्नुपर्ने सुझाव लामा नेतृत्वको समितिले दिएको छ।