काठमाडौं । काठमाडौंको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या गरेका छन् । मकवानपुरको हेटौंडा घर भई काठमाडौँको गुहेश्वरी बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया पत्नी रन्जु तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।
रन्जुको पेटमा ६ महिनाको बच्चा थियो । एक साताअघि पति पत्नीबीच झगडा भएको र बिहीबार बिहान पनि सोही विषयमा फेरि झगडा हुँदा आफूले ‘घाँटी थिचेर पत्नीको हत्या गरेको’ आरोपीले प्रहरीसँग बताएका छन्।
पत्नी हत्यापछि उनले प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए। जानकारी पाए लगत्तै प्रहरी डेरामा पुग्दा उनी चुकुल लगाएर कोठामा बसिरहेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।