• बैशाख २७ २०८३, आईतवार

एमसीसी जनतामा गइसकेको छ, संंसदमा पेस गर्दिन : सभामुख सापकोटा

श्रावण २८ २०७८, बिहीबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीसितको सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् । पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोस्ट्रमबाटै प्रश्न गरेको भोलिपल्टै बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले उक्त संकेत गरेका हुन् ।

उनले एमसीसीमा राष्ट्रिय सहमति जरुरी रहेकाले तत्काल अनुमोदन गरी कार्यान्वयनमा आउने अवस्था नरहेको बताए । ‘एमसीसी सम्झौता पारित गर्न राष्ट्रिय सहमति आवश्यक हुन्छ, त्यो पनि भएन भने कमसे कम संसद्मा रहेका दलहरुबीच समझदारी हुनु आवश्यक छ, अहिले त्यस्तो देखिँदैन,’ उनको भनाइ थियो ।

एमसीसी जनताको तहमा पुगिसकेको उल्लेख गर्दै यसलाई सत्तारुढ गठबन्धनले विचार गर्नुपर्नेसमेत बताए । आफैले पनि एमसीसीको समग्र पक्षबारे मूल्यांकन गरिरहेको उल्लेख गर्दै पर्याप्त छलफल र सहमतिबिना एमसीसी अघि नबढ्ने उनको जिकीर थियो ।

‘एमसीसीका समग्र पक्षबारे म पनि छलफल गरिरहेको छु, निष्पक्ष भएर, खुला दिमागले छलफल गरिरहेको छु,’ सभामुखको भनाइ थियो । अहिले संसद चले पनि सभामुखले यसलाई कार्यसूचीमा राखेका छैनन् । राजनीतिक सहमतिविना एमसीसी प्रस्ताव अघि नबढाउने अडानबाट उनी पछि नहटेको पछिल्लो उनको यो अभिव्यक्तिले स्पष्ट पारेको छ ।

त्यसो त तत्कालीन प्रधानमन्त्री ओली र सभामुख सापकोटा बीच एमसीसी संसद्मा अघि नबढाएको भन्दै सार्वजनिक रूपमै आरोपप्रत्यारोप चलेको थियो । एमसीसी अघि नबढाएको भन्दै ओलीले सभामुखप्रति कडा आपत्ति जनाउँदै विकास विरोधी संज्ञा दिन भ्याएका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।