काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्टरहेका छन् । भट्टलाई कलंकी स्युचाटारबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ ।
२०७५ चैत २६ मा पनि महाशाखाले भट्टलाई पक्राउ गरेको थियो । साइबर अपराध र ठगी मुद्दामा उनी १ वर्ष जेल बसेर ३० हजार जरिवाना तिरेर रिहा भएका थिए । समाजिक सञ्जालमार्फत चिनजान गरेर विश्वासमा पारेर उनले ठग्ने गरेको महाशाखाले जनाएको छ ।