काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले दिएको निर्देशनअनुसार काम गर्ने बताएका छन्।
बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने हालका प्रधानमन्त्री शेर बहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले जुन जिम्मेवारी दिनुभएको छ उहाँहरुबाट आउने निर्देशनअनुसार काम गर्नेछु।
उनले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने बताए । प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउने भन्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं ।’
जनअपेक्षाअनुसार नेपाल सरकारले जिम्मेवारी दिएको छ। उनले भने ‘ एउटा संयोग के छ भने म पहिलो पटक कार्यकारी निर्देशक हुँदा जनार्दन शर्मा ऊर्जामन्त्री र प्रचण्ड प्रधानमन्त्री हुनुहन्थ्यो । त्यही सरकारले जिम्मेवारी दिएको थिय र अहिले पनि उहाँहरुको गठबन्धनको सरकारले नै जिम्मेवारी दिएको छ।’
जल तथा ऊर्जा आयोगमा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि सरकारले उचित व्यवस्थापन गरेको उनको धारणा छ।