• बैशाख २७ २०८३, आईतवार

राजीनामा दिने तयारीमा मुख्यमन्त्री पोखरेल

श्रावण २७ २०७८, बुधबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक अगावै राजीनामा दिने छन् । अहिले बिहान बुटवलमा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ ।
बैठकमा सहभागी एक सांसदका अनुसार दिउँसोको प्रदेशसभा बैठक अगावै राजीनामा दिने मुडमा पोखरेल देखिएका छन् । ‘मुख्यमन्त्रीले विपक्षी दलहरुको अविश्वास प्रस्ताव फेस नगर्ने मनस्थिति बनाउनुभएको छ,’ उनले भने ।

यसैबीच पोखरेल सरकारमा सामेल जसपाका मन्त्री सन्तोषकुमार पाण्डेयले हिजो साँझ मुख्यमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । आफ्नो पार्टी जसपाको संसदीय दलको निर्णय अनुसार सरकार छाड्नुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

अरु दुई मन्त्रीको पनि केही बेरमा राजीनामा आउँदैछ । सरकार स्पष्टसँग अल्पमतमा परे पनि तत्कालीन प्रदेश प्रमुखको सहयोगमा प्राविधिक रुपमा सरकार सञ्चालन गर्दै आउनुभएका मुख्यमन्त्री पोखरेल पछिल्ला दिन थप संकटमा परेपछि अविश्वास प्रस्तावमाथिको छलफल र मतदान अगावै राजीनामा दिने मुडमा पुग्नुभएको बताइन्छ ।

लुम्बिनी र गण्डकी प्रदेश सरकार ढल्नुमा नेकपा विवाद कारक रहे पनि यसमा माधव नेपाल खेमाको प्रत्यक्ष भूमिका देखिन्न । जनआस्था  साप्ताहिकमा यो समाचार छापिएको छ ।