बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि आज छलफल हुनेछ । त्यसका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ ।
अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । पोखरेल विरुद्ध विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपा, र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए ।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई नै नियुक्त गरे । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।
लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । विपक्षी कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ । यता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।
सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयको भनाइ छ ।
गत बैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसद पदबाट हटाएको थियो । सो निर्णय विरुद्ध तीनै जना अदालत गएका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
रुपन्देही क्षेत्रनम्बर ३ (१) बाट विजयी पाण्डेयले मन्त्री पद त्यागे पनि विजय यादव र कल्पना पाण्डेय भने सरकारमा कायमै छन् । लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद थिए । पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन् ।