काठमाडौं । चीनले अमेरिकी एमसीसी कुनैपनि हालतमा नेपालको संसदबाट पास नगर्न दबाव दिएको खुलासा भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पपकमल दाहाल निवास खुमलटार पुगेर उनलाई एमसीसी पास नगर्न आग्रह गरेको बुझिएको छ ।
कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको गठबन्धन सत्तामा आएसँगै एमसीसी संसदबाट पास गराउन अमेरिका सक्रिय भएको छ । धेरै विश्लेषकले त एमसीसी पास गराउनकै लागि देउवा नेतृत्वमा सरकार बनाइएको पनि बताइरहेका छन् ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले उनकै पार्टीमा एमसीसी पास गर्ने बारेमा व्यापक विरोध भएपछि संसद नै भंग गरिदिएको टिप्पणी गरिएको छ । अदालतको अदेशबाट ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वमा सरकार बनाएसँगै एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढेको छ । ओली सरकारकै पालामा देउवाले एमसीसी संसदबाट पास गर्नुपर्नेमा दबाव दिइरहन्थे ।
नेपालमा सरकार बनाउने र ढाल्ने काममा खासै चासो नदेखाएको चीनले देउवा सरकारले सदनबाट एमसीसी पास गराउने आशंकाका कारण त्यसलाई रोक्नका लागि यान्छी सक्रिय भएकी हुन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड र यान्छी बिच ९ः२० देखि ९ः५० बजेसम्म भेटवार्ता भएको हो । सचिवालय स्रोतका अनुसार एमसीसी पारित हुन नदिन चिनियाँ राजदूतले प्रचण्डलाई आग्रह गरेकी थिइन् । एमसीसी पारित भयो भने नतिजा राम्रो नहुने यान्छीको घुमाउरो भाषामा चेतावनी थियो ।
यान्छीले एमसीसीलाई रोक्न र त्यसको सट्टामा बीआरआईलाई अगाडि बढाउन आग्रह गरेकी थिइन् । यान्छीले त्यसमा जस्तो सहयोग चाहिन्छ चीन तयार रहेको बताएकी थिइन् । यद्यपि प्रचण्डले भने सत्ता गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए ।
एमसीसी रोक्न सभामुख अग्नि सापकोटादेखि माओवादी अध्यक्ष प्रचण्डसम्म चिनियाँ दबाव छ । एमसीसी रोक्नका लागि यसका विरोधी अभियन्ताहरुले अभियान चलाइरहेका छन् । नेपालमा एमसीसी विरोधी भावना निकै चर्किएर गएको छ ।
यसभन्दा अघिका ६ वटा सरकारहरुले स्वीकारिसकेको एमसीसी पछिल्लो चरणमा जब जनस्तरसम्म यसको नकारात्मकताका बारेमा व्यापक बहस हुन थाल्यो तब यसमा सही गर्नेहरु ‘खाउँ त दिनभरीको सिकार नखाउँ त कान्छाबाबुको अनुहार’ झैं भएका छन् ।
नेपालमा यसअघि नै एमसीसीको कार्यालय खोलेर काम सरु भइसकेको छ । तर प्रशासनिक र जग्गा खरिदसम्म जे जति खर्च भएको छ त्यो सबै नेपालको तर्फबाट गरिने लगानीबाट खर्च गरिएको छ ।
जानकारहरु नेपालमा स्थापना गरिने एमसीसी परियोजना अमेरिकी सैन्य रणनीति अनुसारको कार्यक्रम र लगानी भएको बताइरहेका छन् । अमेरिकाले पनि एमसीसीमा खर्च गरिने पैसा अनुदान नभई लगानी भएको बताउँदै आएको छ ।
सैन्य रणनीति भएकोले चीन घेर्ने योजना अनुसार अमेरिकाले नेपालमा लगानी गर्न लागेको हो । यही कुरा सत्य भएकै कारणले यसलाई जसरी पनि रोक्नका लागि चिनियाँ राजदूतको सकृयता बढेको हो भन्नेमा कुनै दुविधा मान्नु पर्ने छैन ।