चमोली । भारतमा हिमनदीमा परी मृत्यु भएका १० जना नेपालीको पहिचान खुलेको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दा सहितका नदीमा आएको बाढीमा परी सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।
उत्तराखण्डको हरिद्वार-ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले फोनमा भने, ‘पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका छन् ।’
‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका मृतकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् । ‘यो विपत्तिमा परेर नेपाली श्रमिकले ज्यान गुमाएको सूचनालाई सक्दो अभिलेखमा राख्ने र सम्बद्ध परिवारलाई राहत-क्षतिपूर्ति दिलाउने कुरामा हरिद्वार-ऋषिकेशको नेपाली समाज लागिपरेको छ,’ पाण्डेयले भने, ‘तर, विपत्तिपछिको हताहत स्थिति साम्य भइनसकेकाले सबै सूचना लिन र राहत–उद्धारमा समन्वय गर्न अझै मुस्किल परिरहेको छ ।’
यो विपत्तिमा परेर ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन् । सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ । सार्वजनिक सूचीमा तिनीहरूलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।
हराइरहेका नेपालीहरूमध्ये तीनजना तपोवनस्थित एनटीपीसीको जलविद्युत आयोजना, सात ऋषिगंगा जलविद्युत परियोजनामा र एकजना रैनी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने कैलालीको टीकापुरका सोहन चौधरीको मात्र ठेगाना खुलाइएको छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरूको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नभएकाले थप नेपालीहरू बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।
उत्तराखण्डको जोशीमठ नजिक हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा लगायतका नदीमा बाढी आएको थियो । अलकनन्दा हिमाली क्षेत्रमा हिमपहिरोका कारण हिमनदीमा विस्फोट भएको आशंका गरिए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ । उक्त घटनामा परेर मंगलबार साँझसम्म ३२ जनाको शव फेला परेको छ ।
घटना भएको तीन दिन बितिसकेकाले मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । उद्धार टोलीले मंगलबार थप ६ जनाको शव फेला पारेको थियो । ती सबै शव नदी किनारमा अधिकांश अंगभंग भएको अवस्थामा थिए । बाढीले हिमनदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको थियो । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको छ । बाढीका कारण उक्त क्षेत्रका चारवटा जलविद्युत आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत परियोजना र एनटीपीसी जलविद्युत् परियोजनामा बढी क्षति पुगेको छ ।
बाढीले एनटीपीसीको जलविद्युत परियोजनाका दुई सुरुङ हिलो र ढुंगाले भरिएको थियो । त्यही आयोजनाको सानो सुरुङमा फसेका चारजना नेपालीको आइतबार जीवितै उद्धार गरिएको थियो । उनीहरूलाई आइतबार साँझ इन्डो-तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले उद्धार गरेको थियो । उनीहरूको आईटीबीपीकै अस्पतालमा उपचार भइरहेको छ । आइतबार साँझसम्म ती चारजना नेपालीसहित १२ जनालाई जीवितै उद्धार गरिएको हो ।
बिहान १० बजेदेखि थुनिएका उनीहरूलाई साँझ ५ बजे उद्धार गरिएको थियो । त्यसबाहेक परियोजनाको मुख्य सुरुङमा कम्तीमा ३५ मजदुरहरू फसेको आशंका गरिएको छ । उनीहरूको उद्धार प्रयास जारी छ । चमोली जिल्ला प्रशासनको कन्ट्रोल रुमका अनुसार उद्धार टोलीले करिब दुई किमि लामो सुरुङको ८० मिटरसम्मको खण्डमा भरिएको हिलो र ढुंगा हटाइसकेको छ ।
उद्धारका लागि एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी, एसएसपी र सेनालगायतको टोली खटिएको छ । पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपालीहरू उत्तराखण्डको जलविद्युत र सडक परियोजना काम गर्न जाने गरेका छन् । त्यही भएर आइतबारको बाढीमा हराएकाहरूमध्ये थप नेपालीहरू पनि हुन सक्ने आशंका गरिएको छ ।