• बैशाख १३ २०८२, शनिबार

ओलीको जस्तै ‘दबाब समूह’मा परिणत हुने त होइन प्रचण्ड-माधवको सभा पनि ?

माघ २७ २०७७, मंगलवार

समाचार विश्लेषण । सत्ताधारी पार्टी दुई चिरामा विभक्त भएर आ–आफ्नो पक्षको शक्ति प्रदर्शन गर्न सडकमा उत्रिँदा सरकारी पक्षको माघ २३ गतेको जनप्रदर्शन ‘दबाबसमूह’मा परिणत भएपछि अब माघ २८ गते हुँदै गरेको प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शनले ‘राजनीतिक शक्ति प्रदर्शन’कै उचाइ र मापदण्ड कायम गर्ला त भन्ने प्रश्न आमरुपमा उठाएको छ ।

प्रधानमन्त्री ओलीले माघ २३ को जनसभा निकै वृहत् हुने र यसमा आफूले नयाँ कुरा बोल्ने भनेर देशभरबाट मानिस काठमाडौं बोलाएका थिए । उपस्थित मानिसमा प्रमले केही न केही नयाँ कुरा हामीलाई दिनेछन् भनेर आशा पनि गरेका थिए । त्यसै दिन प्रम ओलीले हिन्दु राष्ट्र घोषणा गर्ने छन् भनेर राजनीतिक वृत्तमा हल्ला पनि निकै चलेको थियो ।

यसैलाई बलपुग्ने गरी प्रम ओली पक्षले नारायणहिटी दरबार अगाडी सम्बोधन मञ्च पनि सजाउन लगाए । यसले हिन्दु राष्ट्र घोषणा गर्ने ओलीको मनोविश्लेषण गरिरहेकाहरुलाई केही सुविधा पनि दिइरहेको थियो । तर प्रम ओलीले उक्त जनसभामा अपेक्षित नयाँ कुरा केही पनि दिन सकेनन् ।

बरु उनले ‘हामी चुनाव चाहन्छौं, ‘चुनावमा अघि बढ्यौं’ भन्ने भावमा केही नारा उपस्थित जनसमूहलाई दोहर्याउन लगाए । यसले गर्दा स्वयम् ओली पनि चुनाव हुन्छ भन्नेमा ढुक्क देखिंदैनन् भन्ने उल्टो सन्देश दियो । यस्ता नारा लगाउन लगाएर जब ओलीले राजनीतिक शक्ति प्रदर्शनलाई दबाबमूलक प्रदर्शनमा अवतरण गराए, तब उपस्थित जनतामा रहेको विभ्रम क्षणभरमा साफ हुन पुग्यो । प्रदर्शनकारीका रुपमा उपस्थित जनता फटाफट आफ्नो बाटो लागे ।

यो दृष्यले स्वयम् प्रम ओलीको भाषणको सहज तयारी र त्यस अनुसारको अभिव्यक्तिमा निकै समस्या खडा गर्यो । उनले उखान टुक्का र वाग्धाराहरु प्रयोग गर्न छोडी सरकारले गरेका कामको पुराना अभिव्यक्ति दोहर्याउन थाले । जनताले प्रमबाट यो कुरा सुन्न काठमाडौंको यात्रा तय गरेर दुःख पाएका थिएनन् । ठीक यहीनेर उपस्थित जनताको केही भ्रमपूर्ण मनोविज्ञान र प्रम ओलीले अभिव्यक्त गरेको राजनीतिक यथार्थताको सिधासिधा टक्कर हुन गयो । यसले विरोध प्रदर्शनलाई नमिठो परिणतिमा पुर्यायो । यसको ठूलो झड्का चुनाव होस् वा नहोस् ओली पक्षलाई अबका दिनमा प्रत्यक्ष देखिने छ ।

नेपाली जनता एक्सन ओरिएन्टेड छन् । फौजी स्वभावका छन् । प्रम ओलीले भने झैं कुनै पनि युद्ध नहारेका छन् । तर दुर्भाग्य ! तिनै नेपाली जनताले हरक्षण आफ्ना नेताहरुले हरेक युद्ध हारेको तीतो र नमिठो अनुभूति संगालिरहेका छन् । प्रम ओलीको शक्ति प्रदर्शनपछि सरकारबाट च्यातिएको अर्को समूहका अध्यक्ष प्रचण्डले ओली अब ओह्रालो लागिसके भनी सार्वजनिक रुपमा भन्दै हिंडेका पनि छन् । तर माघ २८ गतेको शक्ति प्रदर्शन प्रचण्ड-माधव पक्षका लागि फलामको च्युरा साबित हुँदैछ । यो कार्यक्रमले पनि एक्सन ओरिएन्टेड र परिणाममूलक कार्यक्रमको खोजी गरिरहेको छ ।

माघ २७ सम्मको सडक मार्च र मसाल जु्लुशमा सहभागीहरु प्रम ओलीको ओह्रालोविरुद्ध प्रचण्ड–माधवको उकालोको हेर्न चाहिरहेका छन् । माघ २३ को जनसभामा ठेस लागेर बनेको घाउमा अमल्हम पट्टीको सन्देश दिन प्रम ओलीले बैसाख १७ गते ४० जिल्लामा र बैसाख २७ गते ३७ जिल्लामा चुनाव गर्नगराउन मन्त्रीपरिषदको निर्णय गराउन पुगेका छन् ।

ठीक यसै बेलामा २४ घण्टाको अन्तरालमा माघ २८ गते हुन लागेको प्रचण्ड-माधव पक्षको जनसभाले ठोस र वस्तुवादी कार्यक्रम पाएन भने यो न त दबाबसमूहमा परिणत हुने देखिन्छ, न त थप सशक्त विरोध प्रदर्शनको बलियो आधार नै । यसै सन्दर्भमा आम चासोको प्रश्न बनेर उभिएको छ- ओलीको माघ २३ को शक्ति प्रदर्शन ‘दबाब समूह’मा परिणत हुन पुगेका बेला प्रचण्ड-माधव पक्षको के होला ?