काठमाडौँ। विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले शिक्षकको सेवा-सुविधा वृद्धिको फाइल मन्त्रिपरिषद्मा थन्क्याएर राखिएको आरोप लगाएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अहिलेको ‘प्रतिगमन’ सच्चिएपछि मन्त्रिपरिषद्मा थन्किएका फाइल, प्रतिवेदनहरू कार्यान्वयनमा आउने बताए । उनले भने ‘निवर्तमान शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले हाम्रोतर्फबाट शिक्षा क्षेत्र सुधारको लागि धेरै प्रस्ताव गएका छन्। त्यो सबै थन्किएको छ’ उनले भने, ‘प्रतिगमनलाई परास्त गरेपछि ओलीले थन्काएको सुझाव कार्यान्वयनमा जान्छ।’
दाहालले परिवर्तनको आन्दोलनमा शिक्षकहरू अग्रपंक्तिमा रहे पनि उनीहरूको जीवनस्तर, सेवा सुविधामा कुनै परिवर्तन नआएको पनि औंल्याए । अरू देशमा महत्त्वपूर्ण नियुक्तिहरूमा राजकीय पदहरूमा शिक्षक, विशेषतः माध्यामिक तहका शिक्षकहरूलाई प्राथमिकता दिइने बताउँदै नेपालमा त्यस्तो अवस्था नरहेको बताउदै प्रचण्डले नेकपा विभाजनको सन्दर्भमा शिक्षकहरूको भेला हुनु सकारात्मक भएको बताए ।
उनले ओलीको विरुद्धको कदमलाई परास्त गर्नका लागि सबै एकजुट भएर लग्नु पर्ने बताए।
शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भनेर विगतमा प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको उनको भनाइ थियो। उनले शिक्षकहरु अन्धभक्त नहुने र उनीहरुले विवेक प्रयोग गर्ने गर्छन् । उनीहरु सत्य र न्यायको पक्षमा हुन्छन् । त्यसो भएकाले शिक्षकहरुलाई विचारबाट बाहिर राख्न ओलीले चाहेको बताए।
आगामी माघ २८ मा काठमाडौंमा हुने जनप्रदर्शनलाई व्यापक बनाउन प्रचण्डले आफूनिकटका शिक्षकहरूलाई आग्रह पनि गरेका छन्। लडाइँ जितेर आएपछि शिक्षकहरूका मुद्दा सुनुवाइ गर्ने पनि प्रचणको भनाइ छ।