धनगढी । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन।
बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन। घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन। टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो।