• बैशाख १२ २०८२, शुक्रबार

माघ २८ गतेको जनप्रदर्शन सफल बनाउन दाहाल -नेपालको अपिल

माघ २५ २०७७, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहले माघ २८ गते काठमाडौँमा गर्ने जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न सम्पूर्ण जनसमुदायलाई अनुरोध गरेको छ ।

आइतबार नेकपाको आधिकारिक फेसबुक पेजमार्फत एक भिडिओ सन्देस जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आगामी बुधबार काठमाडौँमा हुने विशाल विरोधसभामा सहभागी बन्न आग्रह गरेका हुन् ।

सन्देसमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको बताएका छन् ।
‘म यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनसमुदायहरुसँग हामी सवैले लडेर प्राप्त उपलब्धिको रक्षा गर्नका निम्ति माघ २८ गते काठमाडौँको विरोध प्रदर्शनमा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्न चाहान्छु’, अध्यक्ष प्रचण्डले भिडियोमार्फत भनेका छन् ।

त्यस्तै अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध सशक्त आवाज गुञ्जाउन सभाको आयोजना गरेको बताएका छन् । उनले विगतमा भएका कमिकमजोरीको आत्मसमीक्षा गर्ने पनि बताएका छन् ।
केन्द्रीय संघर्ष समितिको आयोजनामा सो समूहले २८ गते विशाल जनप्रदर्शन गर्ने तयारी गरेको छ ।