• बैशाख १२ २०८२, शुक्रबार

सैन्य ‘कु’ पछि म्यानमारमा गहिरिंदो संकट : सामाजिक सञ्जालमाथि प्रतिबन्ध

माघ २४ २०७७, शनिबार

काठमाडौँ। सैन्य ‘कु’ पछि म्यानमारमा संकट झन् गहिरिंदो छ । ‘कु’ को विरोधमा उपयोग हुनसक्ने सडक तथा खुला स्थानहरु प्रतिबन्धित भएपछि फेस बुक र इन्स्टाग्राम विरोधका स्वर पोख्ने स्थान हुँदै आएका थिए । तर ती पनि शनिवारदेखि प्रतिबन्धित हुन पुगेका छन् । म्यानमारमा फेसबुक एप्स ब्लक गरिएको छ ।

सैन्य ‘कु’ को विरोधमा गरिएका प्रदर्शन सानो पैमानाका भए पनि फेसबुकलगायतका सामाजिक सञ्जालले यसको प्रचारको दायरा ठूलो बनाइरहेका थिए । सडकमा भएका विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्जालमा पोस्टहुँदा यसले देशभित्रका साथै देशबाहिर पनि निकै प्रभाव पार्दै आएका थिए ।

तर म्यानमार सेनाले यी सबैमाथि प्रतिबन्ध लगाउँदै ‘सार्वजनिक हित’का लागि त्यसो गरिएको भनेको छ । सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकलाई ट्विटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएलगत्तै यस्तो स्थिति सिर्जना भएको हो । हाल नर्वेजियन टेलिनर कम्पनीले म्यानमारमा मोबाइल सेवा प्रदान गर्दै आएको छ ।

टेलिनर कम्पनीले भने विज्ञप्ति जारी गर्दै ‘म्यानमार सरकारले जारी गरेको निर्देशन म्यानमारको घरेलु कानुनअन्तर्गत स्वीकार्य हुन सक्छ’ भन्दै आफ्नो हकमा भने त्यो बाध्यकारी नहुने संकेत गरेको छ । सूचना सम्प्रेषणमा रोक लगाउने म्यानमारको कदमलाई ट्विटरले अस्वाभाविक भन्दै चिन्ता व्यक्त गरेको छ ।

फेसबुकले पनि चिन्ता व्यक्त गर्दै म्यानमारस्थित दूरसञ्चार सेवाप्रदायकलाई कनेक्टिभिटी कायम गर्न अनुरोध गर्दै सर्वसाधरणलाई परिवार र साथीसँग कुराकानी गर्न दिनु पर्ने अनुरोध गरेको छ ।

आन्तरिक मतभेद भएको भन्दै म्यानमार सेनाले सोमबार बिहान ‘कु’ गरी नेतृ आङ साङ सु ची, राष्ट्रपति विन मिन्टसहित उच्च ओहदाका नेताहरुलाई हिरासतमा लिएको छ ।