छिमेकी देश चीनको बुहानमा सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा देखा परेको कोभिड-१९ अहिले आफ्नो स्वरुप र संस्करण बदल्दै विश्व महामारी बनेर मडारिइरहेको छ । सुरुमा यो भाइरसलाई नाम दिंदा कोरोनाबाट ‘को’, भाइरसबाट भीआई, डिसेम्बर महिनाबाट भी र सन् २०१९ बाट ‘१९’ लिएर कोभिड-१९ भनी नामाकरण गरिएको थियो । यो भाइरस पृथ्वीमा भएका करोडौं भाइरसमध्येको पछिल्लो र विभिन्न स्वरुपमा विकास भैरहेको खतरनाक भाइरस हो । यसले अहिले ठूलो महामारीको रुप लिइरहेको छ ।
अनुवांशिकी वा ‘जीन’बाट विकास हुन्छ नयाँ कोरोना:
आजका दिनमा यसलाई सामान्यतः कोरोना भनेर चिन्ने र उच्चारण गर्ने गरिन्छ । धेरैले कोभिड भनेर पनि उच्चारण गर्दछन् । कोभिडले अहिले आफूलाई विश्वभरका जीवजन्तु र मानिसमा भएको अनुवांशिकी वा जीनमा प्रवेश गराई उक्त जीनअनुसार आफ्नो प्रकार परिवर्तन गरिरहने गरेको छ । यसलाई ‘कोरोना म्युटेशन’ भनिन्छ । नयाँ विकास भएर आएको कोरोनाको प्रकारलाई ‘भेरियन्ट’ भनेर बुझ्न थालिएको छ ।
संसारभर रहेका हरेक जीवजीवात्मामा प्रवेश गरेर तिनमा रहेका जीनका आधारमा आफ्नो गुण र स्वरुप बदलिरहने भएकाले ‘कोरोना म्युटेशन’ क्षणक्षणमा भैरहेको स्वास्थ्यविदको आँकलन छ । मात्र यति फरक हो यसरी क्षणक्षणमा बदलिइरहेको कोरोना भाइरस सिंगो मानव प्रजाति र त्यसमा पनि कुन अनुवांशिकी पचाएर विकास भएको हो, त्यो कुरा बुझ्ने कुरामा केन्द्रित हुन थालेको छ ।
नयाँ प्रकार र नयाँ लहर:
पहिले कोरोनाले एक पटक छोएमा त्यसलाई जितेको वा पचाएको मानिसलाई कोरोना दोहोरिएर लाग्दैन कि भन्ने धारणा बलियो थियो । तर अहिले दोहरिएर नयाँ नयाँ स्वरुप र प्रकारमा लहरका रुपमा आउन थालेपछि यो अनुमान गलत साबित भएको छ । पहिलो लहर पचाएकाका लागि दोस्रो लहर पचाउन कठिन हुने देखिन्छ । पीसीआर टेस्ट गरेर निगेटिभ देखिएको मानिसलाई कोभिडले तुरन्तै आक्रमण गरेको पाइएको पनि छ । बिरामी निको भएर घर जाँदाजाँदै फेरि संक्रमित भएको पनि पाइएको छ ।
कोरोना दोहोरिएका घटना:
अब त यतिसम्म भएको छ कि परीक्षण भन्दा पनि लक्षणलाई पो मान्नुपर्छ भन्ने तर्क पनि आउन थालेका छन् । किनकि, भाइरस उति नै बेला ‘छ पनि र छैन पनि’ को अवस्थामा देखिन थालेको छ । विशिष्ट उदाहरणका रुपमा केही समय पहिले हङकङमा एक ३३ बर्षिय पुरुषलाई ४ महिनापछि स्पेनबाट बेलायत हुँदै हङकङ पुग्दा कोरोना दोहोरियो । त्यस्तै भारतको बैंगलोरमा एक निजी अस्पतालले जुलाईमा पहिलो पटक संक्रमण देखिएको २६ बर्षिया महिलामा दोस्रोपटक कोरोना संक्रमण भेटिएको थियो । साथै, जापानको ओसाकामा एक हेल्थ केयर सेन्टरमा एक ४० बर्षीय महिलामा कोरोनाको उपचार गराएर घर फर्किएको १० दिनमा फेरि पोजिटिभ पाइएको थियो ।
यसका पछाडि अनेकौं अडकलबाजीले काम गरेका छन् । शरीरमा पुनः संक्रमण देखिनुमा शरीरका कुनै अंगमा भाइरस छुटेको हुनपर्ने, एन्टिबडी निर्माण कम हुने वा नहुने, प्रयोगशाला वा परीक्षणको विश्वसनीयता नहुनु, ब्यक्तिगत इम्युनिटीमा मात्र ध्यान दिनु, हर्ड इम्युनिटीमा ध्यान नदिनु आदि रहेका छन् ।
कोरोनाको हजारौं पटक म्युटेशन:
मानव तथा जीवजन्तुका विभिन्न प्रजातिमा कोरोना भाइरस लागेर त्यसमाथि विजयप्राप्त गरेपछि यसले अर्कै गुण र प्रकारमा आफूलाई विकास गर्छ । कोरोना महामारीका कारण विश्व नै संक्रमित भैरहँदा यसले मानव तथा जीवजन्तुमा रहेका विभिन्न जीनमा आक्रमण र विजय प्राप्त गरी आफूलाई हरक्षण अपडेट गर्दै आएको छ । भनिन्छ, हालसम्म यसले ४ हजार पटक आफूलाई म्युटेशन गरी नयाँ नयाँ गुण र स्वरुपमा रुपान्तरण गरिसकेको छ । मानव जातिले हरेक दिन एकपछि अर्को गरी भिन्न र फरक प्रकृतिको कोरोनाको मुकावला गरिरहेको छ ।
के शरीरमा लुकेर बस्न सक्छ कोरोना ?
संक्रमणमुक्त भइसकेकामा पनि एन्टिबडी नबनेको हुन सक्छ । स्वासप्रश्वास, पाचन, मिर्गौला, अण्डकोष लगायतका शरीरका अंगहरुमा रहेका विशेषखालका एस-२ रिसेप्टर कोष हुन्छन् । यी कोषमा छिटो छिटो एन्टीबडी निर्माण र त्यसको प्रभाव नपर्ने भएकाले पनि भाइरस लुकेर बस्ने संभावना अधिक रहन्छ । लुकेर बसेको भाइरस त्यहिबाट पुनः सक्रिय हुने संभावना रहिरहन्छ । खोप उपलब्ध नभएसम्म या महामारी निर्मुल नभएसम्म जनस्वास्थ्यका मापदण्ड निरन्तर पालना गरिरहनु जरुरी हुन्छ ।