• मंसिर १७ २०८१, सोमबार

चीनको सहयोगमा भालुबाङलाई देशकै नमूना प्रदेश राजधानी बनाइने

माघ २१ २०७७, बुधबार

दाङ । दाङको राप्ती गाँउपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदीको किनारको मैदानी भागमा लुम्बिनी प्रदेशको राजधानी बनाउने निर्णय लुम्बिनी प्रदेश सरकारले गरेको छ । विश्वमै उदाहरणीय शहर निर्माण गर्ने महत्वाकाङ्क्षी योजनामा प्रदेश सरकार लागिपरेको छ । प्रदेश सरकारले राजधानी शहर बनाउने भनेको राप्ती उपत्यका, राप्ती नदीको दुवैतर्फको किनारा क्षेत्र भएकाले यसले प्यूठानको सरुमारानी गाउँपालिकाको केही भागलाई समेत समेट्ने गर्दछ । अर्घाखाँचीको शीतगंगा नगरपालिकाका दुईवटा वडालाई राप्ती नदीको पुलले भालुबाङसँग जोडेको छ भने पुरानो भालुबाङ बजार र लापेलाई झोलुङ्गे पुलले जोडेको छ । यस्तै गढवा गाउँपालिकालाई पनि राप्ती नदीमा निर्मित दुईवटा पुलले जोडेको छ । नेपालकै दोस्रो लामो पुल पनि यही क्षेत्रमा पर्दछ ।

नमुना सहर बनाउने संकल्प गरिएको क्षेत्रमा तराई र पहाड दुवैको अनुभूति गर्न पाइन्छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका पहाडी क्षेत्र हो भने राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा तराईको भू-भागमा पर्दछन् । राजधानीका लागि आवश्यक पर्ने जमिन यो क्षेत्रमा प्रशस्त रहेको राप्ती गाउँपालिकाले जनाएको छ । गढवा गाउँपालिकाका तीन वडा र राप्ती गाउँपालिकामा गरी १ हजार ५ सय बिघाभन्दा बढी सरकारी जग्गा रहेको दुवै पालिकाले जनाएका छन् । प्रदेश सरकारलाई एक हजार बिघाभन्दा बढी जमिन राजधानीका लागि उपलब्ध गराउन सकिने प्रतिवेदन दिइसकेको राप्ती गाउँपालिकाका प्रमुख नुमानन्द सुवेदीले जानकारी दिए । शीतगंगा नगरपालिकाको दुईवटा वडामा पनि योजना निर्माणगरी बस्ती बसाल्न सहजै सकिने स्थानीय बासिन्दाहरु बताउँछन् । शितगंगाको ८ र ९ नं वडा पहाडी क्षेत्र भएकोले बस्ती पातलो छ भने सडक पनि साँघुरो छ । त्यसक्षेत्रमा ठूला संरचना निर्माण नभएकाले योजनावद्ध तरिकाले कामगर्न सकिने स्थानीयको भनाइ छ ।

“यो क्षेत्र नगरपालिका भित्र परे पनि अझै पनि डोको बोकेर हिँड्नु पर्ने बाध्यता छ, शितगंगाको लागि यो पिछडिएको क्षेत्र हो” स्थानीयवासी काशिराम पुनले भने ।

आफ्नो ठाँउमा राजधानी शहर बनेको हेर्ने रहर त्यहाँका स्थानीयहरुमा छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीलाई अन्तराष्ट्रियस्तरको हेर्न लायक बनाउने गरी काम अघि बढाइएको प्रदेश पुर्वाधार विकास कार्यालयले जनाएको छ । राप्ती नदीको किनारलाई समेटेर बनाउन लागेको स्थायी राजधानी पूर्णरुपमा आधुनिक सहरका रुपमा विकास गर्ने योजना लुम्बिनी प्रदेश सरकारले अगाडी सारेको छ । त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । प्राधिकरणको कार्यालय दाङको राप्ति गाँउपालिका ३ पिपरीमा गत माघ १७ गते स्थापना गरी उद्घाटन समेत भैसकेको छ । स्थायी राजधानीको टुङ्गो लागेपछि प्रदेश सरकारको योजना अनुसारको व्यवस्थित सहर निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले कार्यालय स्थापना भएको र काम पनि सुरु भैसकेको बताएको छ । प्राधिकरणले पहिलो चरणमा राजधानी घोषणा गरिएको क्षेत्रको स्थलगत अवलोकन गर्ने, राजधानीको लागि गुरुयोजना निर्माण गर्न कन्सल्टेन्सी छनोट गर्ने लगायतका काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाँले जानकारी दिए । “राजधानीको लागि गुरु योजना बनाउने काम भइरहेको छ, कन्सल्टेन्सी छनोटको काम अब हुन्छ, गुरु योजनामा कस्तो सहर हुने त्यसको प्रारुप बन्छ, प्रदेश संरचना बनाउने काम सुरु हुन्छ” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाँले भने । कन्सल्टेन्सीले बनाएको गुरु योजना पास भयो भने डीपीआर बनाउने काम सुरुहुन्छ भने त्यसपछिको चरणमा निर्माणको काम सुरुहुने मजगैंयाँले जानकारी दिए ।

तत्काल भवनहरु भाडामा लिएर काम चलाउकारुपमा प्रदेश राजधानी चलाउने योजनामा प्रदेश सरकार नभएकोले आफूहरुलाई योजनावद्ध तरिकाले काम गर्न मुख्यमन्त्रीले निर्देशन दिएकोे मजगैंयाँले बताए ।

“राजधानीको काम व्यवस्थित रुपले फिल्डमै खटेर गर्नकालागि राप्ती गाँउपालिकामा कार्यालय स्थापना गरी काम सुरुगरिसकेका छौ” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाँले भने । विकास प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरेर काम सुरु भएपछि अरु सम्बन्धित कार्यालयहरुपनि देउखुरीमा नै आउने उनले जानकारी दिए । राप्ती नदीको खाली जग्गालाई व्यवस्थित गरेर लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकालाई देशकै नमुना अन्तराष्ट्रियस्तरको सहर बनाउनेगरी काम अघि बढाइएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताए । “जे छ त्यसैलाई टालटुल पारेर चलाउने वा हतारमा राजधानीको संरचना बनाएर फुर्सदमा पछुताउने काम गरिँदैन, नयाँ मोडेलको व्यवस्थित शहर निर्माण गर्न समय लाग्नसक्छ, नेपालमा अहिले जस्ता राजधानी छन, त्यस्तै राजधानी बनाउनका लागि हामीले घोषणा गरेको होइन, अन्तराष्ट्रियस्तरको बनाउनका लागि घोषणा गरेको हो” मुख्यमन्त्री पोखरेलले भने । प्रदेश राजधानीमा ढल निकास निर्माणसँगै विद्युत, टेलिफोन र इन्टरनेटको तारलाई जमिन मुनिबाट विस्तार गरिने योजनामा सरकार रहेको मुख्यमन्त्री पोखरेलले बताए । “पूर्वाधार विकास प्राधिकरणले संरचना निर्माण गरेपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने प्रदेश सरकारको लक्ष्य हो, त्यसैले अहिले अस्थायी राजधानी बुटवलमै राखिएको छ” मुख्यमन्त्री पोखरेलले भने ।

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रेल ल्याउने योजनामा आफू रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको दावि गरे तर, उनले त्यो रेल कहाँदेखि कहाँ चलाउने भन्ने बारे केही खुलाउन चाहेनन् । राजधानी वरपर व्यवसायीक क्षेत्रका लगि सबै जग्गामा पूर्वाधार विकास कार्यालयले गुरु योजना बनाउने छ । गुरुयोजनामा प्रदेशको व्यवस्थित शहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निमार्ण हुने छ भने लुम्बिनी प्रदेशको राजधानी देउखुरीलाई दोस्रो फेवा तालका रुपमा विकास गर्ने मुख्यमन्त्री पोखरेलको योजना छ । राजधानीमा व्यवस्थित सहर बनाउनका लागि चीनको सिचवान राज्यसँग सहकार्य थालिएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । “केही समयअघि मात्रै हामीले चीनको सिचवान राज्यको प्राविधिक टोलीसँग राजधानी कस्तो हुनुपर्छ र कस्तो गराउने भन्ने बारेमा भर्चुअल मिटिङ गरिसकेका छौं, कोभिडको असर कम भएपछि त्यो टोली देउखुरी आएर काम गर्ने सहमति समेत भइसकेको छ” मुख्यमन्त्री पोखरेलले भने । तर उनले कस्तो शहर निर्माण हुन्छ भनेर उदाहरण भने दिन सकेनन् । प्रशस्त सम्भावना र नागरिकको भावनालाई बुझेर सबैलाई न्याय हुने गरी प्रदेश राजधानीको विषय टुङ्गिएको भन्दै मुख्यमन्त्री पोखरेलले अब समय लगाएरै नवीनतम योजना अनुसारको सहर विकास गर्ने अभियानमा प्रदेश सरकार लागेको बताए ।

“अहिले जे भएको छ त्यसैमा कार्यालय खोल्ने पक्षमा म छैन, व्यवस्थित योजनाका साथ अत्याधुनिक सहर निर्माण गर्ने हो त्यो हामी बनाउँछौं र राजधानी यस्तो हुनुपर्छ भनेर दाङ हर्ने आउने बनाउँछौ” मुख्यमन्त्री पोखरेलले भने ।

प्राधिकरणले आफ्नो काम तीव्रगतिमा अघि बढाउने विश्वास धेरैको छ । अब देउखुरीबाट प्रदेशका धेरै कामहरु गर्नेगरी काम थालिएको प्रदेशसभा सदस्य ईन्द्रजित थारुले बताए । राजधानीका लागि प्रमुख आधार सबैको पायकपर्ने क्षेत्र हुनुपर्ने भूगोल विषयका प्राध्यापक डाक्टर धरणीधर सुवेदी बताउँछन् । भालुबाङ क्षेत्रबाट पश्चिमतर्फ बर्दियाको राजापुर र पूर्वतर्फ पश्चिम नवलपरासीको दूरी करिब १ सय ९० किलोमिटर, पूर्वीरुकुम र पाल्पाको पूर्वी भाग पनि भालुबाङबाट करिब २ सय १० किलोमिटरको दूरीमा पर्ने सुवेदीको भनाइ छ । यी दूरी अहिले चलनचल्तीमा रहेका सडकको हो । तर अहिलेपनि अन्य वैकल्पिक सडकहरु निर्माणको चरणमा रहेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसदलाई सम्बोधन गर्ने क्रममा नयाँ राजधानी जोड्नका लागि निर्माणाधीन सडकको काम द्रूत गतिमा हुने बताएका थिए । निर्माणको क्रममा रहेका ती सडकको काम समयमै सम्पन्न भएमा पूर्वी र उत्तरी क्षेत्रका सबै जिल्लासँगको दूरी झनै कम हुनेछ । प्रदेश सरकारको योजना अनुसारले काम भएमा केही वर्षपछि नै राप्ती उपत्यका लुम्बिनी प्रदेशको राजधानी मात्र नभएर नेपालकै नमुना सहरका रुपमा विकास हुने निश्चित छ ।