• बैशाख १२ २०८२, शुक्रबार

सोलार र सुधारिएको दिन्छौं भन्दै लाखौं ठग्ने ४ जना पक्राउ

माघ २० २०७७, मंगलवार

जाजरकोट । नक्कली कागजात बनाएर सोलार र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाउँका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट–१ रामीडाँडा निवासी ४० वर्र्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारेको जनाइएको छ । बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । पालिकाको अनमुतिअनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य ऊर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने जनाउँदै प्रत्येक घरधुरीबाट रु तीन हजार ७५० सङ्कलन गरेका थिए ।

सोलार र चुलोको मूल्य रु २५ हजार पर्ने भए पनि रु २१ हजार २५० वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै उनीहरुले झुक्याएका बताइएको छ । उनीहरुले नगद बुझेको रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए । एउटै वडाबाट रु छ लाखसम्म सङ्कलन भइसकेको स्थानीयवासीको भनाइ छ ।

नलगाडका १३ वटै वडाबाट र बारेकोटका अधिकांश वडाबाट सङ्कलन गरिएको रकम वडाध्यक्षमार्फत उक्त संस्थालाई बैंकमार्फत पठाउने फाराम भरेको ४५ दिनभित्र सामान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाईलगायतका कुरामा समेत शङ्कास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकाले आफूहरु ठगीमा परेको स्थानीयवासीको भनाइ छ ।