• बैशाख १२ २०८२, शुक्रबार

भुक्तानी नपाएपछि मेलम्ची आयोजनाको काम रोक्ने ठेकेदार कम्पनीको चेतावनी

माघ १९ २०७७, सोमबार

सिन्धुपाल्चोक । बहुप्रतिक्षित र बहुचर्चित राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको नयाँ ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले भुक्तानी दिन दबाब दिएको छ ।

सिनो हाइड्रोले २० करोड भन्दा बढी रकम भुक्तानी आयोजनाबाट पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन दबाब दिएको हो । मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्टिसाले आफूले काम गरे बापत पाउनु पर्ने भुक्तानी नपाए काम रोक्ने चेतावनी समेत दिएका छन् । सिनो हाइड्रोले आयोजनालाई दुई दिन अघि मात्रै ‘भुक्तानी नपाए काम गर्न नसक्ने’ जनाउँदै इमेल लेखेको थियो ।

आयोजनाले दुई पटक गरी २० करोड बढीको बिल पेश गरेको थियो । परामर्शदाता कम्पनी इप्टिसाले पनि आफ्नो भुक्तानी दिनु पर्ने भन्दै आयोजनालाई पत्र काटेको छ । इप्टिसाले भुक्तानी नपाए काम रोक्ने बताउँदै आएको छ ।

इप्टिसाले मेलम्ची सुरुङको सुपरिवेक्षणको ८ करोड, सुन्दरीजल पानी प्रशोधन केन्द्रको सुपरिवेक्षणको ४ करोड र मेलम्चीको अर्काे आयोजना लार्के र यांग्रीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दाको बाँकी भुक्तानी ५ करोड गरी १७ करोड भुक्तानी लिन बाँकी रहेको दाबी गरेको छ ।

आयोजनाका सूचना अधिकारी पन्तले ठेकेदार कम्पनीलाई काम गरेको बिल आयोजनालाई बुझाएपछि भुक्तानी दिने गरेको दाबी गर्नुभयो ।

इटालियन कम्पनी सिएमसी दि रिभेनाले अन्तिम चरणमा आएर मेलम्चीको काम छोडेर गएपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।

सिनो हाइड्रोले गएको जेठ महिना यता काम थालेको हो । सिएमसीले छोडेर बाँकी रहेको सुरुङ र हेडवक्र्स (मुहान) निर्माणको दुई ठेक्काको काम सिनो हाइड्रोले गरिरहेको छ । कम्पनीले सुरुङको १२ महिनाभित्र र हेडवक्र्सको काम १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य तय गरी काम गरिरहेको छ ।

आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले आयोजनाको अन्तिम चरणको काममात्रै बाँकी रहेको जानकारी दिनुभयो । दुई हप्तापछि सुरुङमा पानी हालेर परीक्षण गर्ने योजना आयोजनाले बनाएको उहाँले बताउनुभयो ।