काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सुशासन र विकासको नारासहित लोककल्याणकारी राज्यको अवधारणा अनुरुप अघि बढेको बताउनु भएको छ ।
नेपाल टेलिभिजन ३७ औं वर्ष प्रवेशको अवसरमा आज आयोजित कार्यक्रममा भर्चुअल सम्बोधन मार्फत सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनले मुलुकको बहुआयामिक संस्कृति कला साहित्य र जनताका आवश्यकता पूरा गर्ने गरी समाचार तथा कार्यक्रमहरु प्रसारण गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले पञ्चायतको बेलामा जस्तो सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने नीति सरकारको नरहेको बताउँदै सरकारी सञ्चार माध्यममाथि लाग्दै आएको आरोपलाई चिरेर नेपाल टेलिभिजन प्रतिस्पर्धामा खरो उतर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल टेलिभिजनको पहुँच विश्वभर पु¥याउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल टेलिभिजन र कर्मचारीका समस्या समाधान गर्न मन्त्रालयले सधै सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजनका कार्यक्रमलाई थप परिष्कृत गर्दै प्रसारण गर्ने योजना रहेको बताउनुभएको थियो । महाप्रबन्धक गोविन्द रोकाले नेपाल टेलिभिजनलाई अझ बढी प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल, नेपाल टेलिभिजन वर्कर्स युनियनका अध्यक्ष विशेश्वर पौडेल नेपाल, पत्रकार महासंघ नेपाल टेलिभजन पत्रकार महासंघका कार्यवाहक अध्यक्ष टेकबहादुर खड्काले कभरेज विस्तारसँगै नेपाल टेलिभिजनबाट प्रसारण हुने समाचार र विषयवस्तुको गुणस्तर बढाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनमा ३० वर्ष र २० बर्ष सेवा गर्ने कर्मचारीलाई सम्मान तथा विद्यालय तहमा उत्कृष्ट स्थान हासिल गर्ने कर्मचारीका सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
२०४१ साल माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र शासकीय रुपान्तरणका लागि समाचार र कार्यक्रम मार्फत योगदान गर्ने एकमात्र जीवन्त र साक्षी प्रसारण संस्थाका रुपमा समेत स्थापित छ । विषयवस्तुमा समयसापेक्ष सुधार गर्दै प्रविधिमा रुपान्तरण गरेको गरेको नेपाल टेलिभिजनका हाल ५ वटा च्यानल रहेका छन् ।
नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपर र एनटीभी इटहरी मार्फत आम दर्शकलाई दैनिक प्रसारण सेवा दिइरहेको छ ।