काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्याय क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्न बार र बेन्च दुवैको सहकार्य उत्तिकै आवश्यक भएको बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमितिसँगको भेटघाटमा प्रधानन्यायाधीश जबराले देशमा आएको वर्तमान असहज परिस्थितिको सर्वोच्च अदालतले उपयुक्त ढंगबाट निराकरण गर्ने विश्वास दिलाए ।
प्रधानन्यायाधीश जबराले सो भेटघाटमा कानून व्यवसायीका लागि गाडी पार्किङ्ग, सर्वोच्च अदालत बारको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र समग्र न्यायपालिकाको सुधारका विषयमा छलफल भएको छ ।
प्रधानन्यायाधीश जबराले यो कार्यसमिति नयाँ भवनमा सरेको देख्न आफूलाई मन भएको कुरा व्यक्त गर्दै सर्वोच्च बारको भवन निर्माणका लागि निकट भविष्यमा नै जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
सर्वोच्च अदालतका का.मु. मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई कुन र कहाँको जग्गा उपलब्ध गराउने भन्ने सम्बन्धमा अध्ययन गर्न प्रधानन्यायाधीशले निर्देशनसमेत दिए ।
त्यस्तै प्रधानन्यायाधीश जबराले सर्वोच्चमा पार्किङको अवस्था अत्यन्तै अप्ठेरो रहेको बताए । पुरातत्वको भवन पछाडि रहेको घोडा तवेला क्षेत्रमा निकट भविश्यमा सर्वोच्च अदालतको भवन निर्माण हुने भएकाले सो क्षेत्रलाई तत्काल गाडी पार्किङ्ग बनाउन कठिनाई भएकाले पार्किङ्गको लागि तत्काल उपयुक्त स्थानको खोजी गर्न का.मु.मुख्य रजिष्ट्रार कुँवरलाई निर्देशन दिए ।
प्रधानन्यायाधीससँगको भेटघाटमा सर्वोच्च अदालत बारको तर्फबाट आफ्नो भनाइ राख्ने क्रममा अध्यक्ष पुर्णमान शाक्यले न्यायपालिकाको स्वतन्त्रता र मर्यादा कायम राख्ने विषय एउटा महत्वपूर्ण विषय भएकाले यस उपर न्यायपालिका भित्र वा वाहिरबाट कुनै आँच आउन दिन नहुने बताए । उनले यस्ता चुनौतीहरुलाई समाधान गर्न सर्वोच्च बार सदैव तयार रहेको र यस विषयमा सर्वोच्च अदालतसँग सहकार्य गर्न पनि उत्सुक रहेको बताए ।