भारतीय तरकारीले बजार पाउँदा नेपालका किसानले उत्पादन गरेको तरकारी बारीमै जोत्नुपर्ने अवस्था चितवनमा अझै अन्त्य भएको छैन । कोरोना महामारीले सिर्जना गरेको लकडाउनसँगै बन्द बजारका कारण तरकारी बिक्री नभएर लाखौँको क्षति व्यहोरेका यहाँका किसानको समस्या जस्ताको तस्तै छ । कोभिडपछि कृषि पेसामा फर्किएका नयाँ उद्यमीहरू पनि कृषिको बजारीकरण देखेर निराश छन् ।
नेपाली बजार भारतीय उत्पादनका लागि सहज भए पनि नेपाली किसानका लागि असहज छ । भरतपुरमा रहेको तरकारीबजारमा समेत नेपाली किसानका तरकारीले भन्दा भारतीय तरकारीले बढी स्थान पाएका छन् । जसका कारण बैंक र सहकारीबाट चर्को ब्याजमा ऋण लिएर खेती गरेका किसानहरू न्यूनतम मूल्य पनि नपाएपछि आफ्नै उत्पादन ट्र्याक्टर लगाएर नष्ट गर्ने गर्छन् ।
आफूले उत्पादन गरेको कृषिउपजले बजार मूल्य नपाएपछि भरतपुर महानगरपालिका-२६ जुनेली गाउँका नवदत्त अधिकारीलेको १० कट्ठामा लगाएको काउली ट्र्याक्टरले जोते । गत २६ पुसमा बारीमा ट्र्याक्टर लगाएर उनले काउली नष्ट गरेका हुन् । १० कट्ठामा काउली लगाउन उनको झन्डै दुई लाख रुपैयाँ खर्च भएको उनी बताउँछन् ।
अधिकारी एक प्रतिनिधि पात्र मात्र हुन्, यहाँका किसानले उत्पादन गरेका तरकारी, तरबुजा, काँक्रो, चुकन्दर बिक्री नभएपछि नष्ट गरिएका समाचार नयाँ पत्रिकामार्फत सार्वजनिक हुँदै आएका छन् । तर, जिल्लाका सरकारी कार्यालयहरूले किसानको पीरमर्का बुझ्ने र राहतका लागि केही काम गरेको देखिँदैन ।
चितवनमा मंसिरदेखि जेठसम्म जमिनअनुसार गोलभेडा उत्पादन हुन्छ । मुख्य उत्पादनकै समयमा भारतबाट ठूलो परिमाणमा गोलभेँडा नेपाल भित्रिने गरेका छन् । जसका कारण नेपाली किसानले गोलभेँडाको लागत मूल्यसमेत पाउँदैनन् । भारतबाट आएको गोलभेँडाका कारण चितवनका किसान लागत मूल्यभन्दा कममा गोलभेँडा बेच्न बाध्य छन् ।
भरतपुर-२५, पसाढापका गणेश भुसालले आफूले खेती गर्दै आएको २० बिघामध्ये सात बिघामा गोलभेँडा लगाएका छन् । त्यसमध्ये तीन बिघाको गोलभेडा बजारीकरण गर्ने समय भएको छ । चार बिघामा भने उनले भर्खरै बिरुवा लगाएका हुन् । ‘आफ्नो लागत मूल्य नै २० रुपैयाँ पर्छ, तर व्यापारीले २० रुपैयाँ दिन पनि गाह्रो मान्छन्,’ उनले दुःखेसो पोखे । प्रतिकेजी १५ देखि १८ रुपैयाँमा गोलभेँडा बेच्दै आएका किसान लागत पनि नआउँदा निराश हुनुपरेको उनी बताउँछन् । उपभोक्ताको भान्सामा पुग्दा गोलभेँडाको मूल्य ५० रुपैयाँ किलोसम्म पर्ने गरेको छ ।
भारतीय कृषि उत्पादन नेपालको भन्दा सस्तो छ । भारतमा सरकारले बिउ, मल, प्रविधि सहयोग गर्छ । तर, नेपालमा भने सरकारले केही सहुलियत दिँदैन । ‘भारतमा नेपालको भन्दा आधा खर्चमा किसानले उत्पादन गर्छन् । हामीले मल नपाएर गोलभेँडाका लागि कालोबजारीमार्फत आएको महँगो मल खरिद गरेर हाल्यौँ । त्यो पनि देशका विभिन्न सिमानामा पुग्नुपऱ्याे, देशको अवस्था यस्तो छ ।
भारत सरकारले बिउ, मल, प्राविधिक र प्रविधिसँगै बजारीकरणमा पनि प्रत्यक्ष सहयोग गर्ने भए उत्पादन लागत निकै सस्तो हुन्थ्यो । स्वाभाविक हो व्यापारीले नाफा बढी हेर्छन् । त्यसैले नेपाली उत्पादन किन्न चाहँदैनन् । हाम्रो बजार पनि व्यवस्थित छैन,’ भुसालले भने ।