• मंसिर ११ २०८१, मंगलवार

नेपाली कांग्रेसलाई सधैंभरि चुनाव लड्ने पार्टी बनाइराख्नु उपयुक्त छैन : युवा नेता थापा

मंसिर ८ २०७८, बुधबार

(नेपाली कांग्रेसको महाधिवेशन सम्मुख हुन लाग्दा यो पार्टीभित्र चलेको ‘नयाँ नेतृत्व’ र ‘नयाँ पुस्ता’को बहस पनि केही हदसम्म कांग्रेसी कार्यकर्ता बीचमा चल्न थालेको देखिन्छ । महाधिवेशन र नेतृत्वको विषयलाई लिएर नेपाली काँग्रेसका युवा नेता गगन थापासँग गोलखबर डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको केही सार अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।)

१. महाधिवेशन त पक्कै हुन्छ नि अब त ?

अन्यौलता थियो, पछिल्लो समयमा आइपुग्दा महाधिवेशन हुन्छ भन्ने पक्का भएको छ । पार्टीको तहगत अधिवेशन भैरहेका छन् ।

हामीहरु पार्टीको निर्वाचन क्षेत्रमा दौडधूप गरिरहेका छौं । क्षेत्रीय अधिवेशन प्रारम्भ भैसकेका छन् । केन्द्रमा पनि तयारी भैसकेको छ ।

२. पार्टीमा उठेको ‘नव निर्माण’को बहस के हो ?

हो, पार्टी नव निर्माणको बहसमा पनि छ । यो कुरा तलदेखि माथिसम्मका लागि उठाइएको हो । यथास्थितिमा नेपाली कांग्रेस अबका दिनमा अघि बढ्न सक्ने देखिदैन ।

नेपाली कांग्रेसलाई सधैंभरि चुनाव लड्ने पार्टी बनाइराख्नु उपयुक्त छैन । यसले पार्टीलाई र समग्रमा देश र जनतालाई गोलचक्करमा फसाइरहन्छ । यसो भएमा देशको प्रगति संभव पनि छैन ।

नेताहरुले सधैं चुनाव कसरी जित्ने भन्ने सोच, विचार र कार्यक्रम मात्र बनाउने भए । यो ‘कोर्स’ निरन्तर रह्यो । नेपाली कांग्रेसले अर्को कोर्स पनि पार गरेर आएको छ ।

यो कोर्स भनेको विचार, राजनीति र परिवर्तनको कोर्स हो । अबका दिनमा नेपाली कांग्रेस २००७ सालको जस्तो परिवर्तनकारी चेत भएको, २०१५ सालको जस्तो प्रगतिशील र गतिशील भएको र २०४७ सालको जस्तो लोकप्रिय भएको हुनु जरुरी छ ।

२०४६ सालपछिको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले खसेको कूल मतको ४० प्रतिशत पाएको थियो । त्यति बेला नेपाली कांग्रेससँग यति बेलाको जस्तो साधनस्रोत र जनशक्ति नै थिएन । अहिले यी सबै छन् ।

३. त्यसो भए नेपाली कांग्रेस फेरि लोकप्रिय बन्न सक्छ ?

हो, पार्टी लोकप्रिय भए चुनाव आफै जितिन्छ । त्यसका लागि पहिलो कुरा नेतृत्वको छबी उज्ज्वल हुनु पर्छ । दोस्रो कुरा, पार्टीमाथि जनताको विश्वास हुनु पर्छ । यसैका लागि पार्टी नव निर्माणमा लागौं भनिएको हो ।

यति भएमा निर्वाचन जितिन्छ । अहिले नेतृत्व कसले लिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर भन्दा पार्टी नवनिर्माणलाई केन्द्रमा राखेर अघि बढ्नु जरुरी छ । यसले मात्र पार्टीलाई लोकप्रिय बनाउने छ ।

४. तपाई पार्टी नवनिर्माणको कुरा गर्दै हुनुहुन्छ । उता वडास्तरीय सम्मेलन पनि सम्पन्न हुन सकिरहेका छैनन् त ?

पार्टीमा समस्या छन् । क्रियाशील सदस्यता वितरणका कुरा विवादमा छन् । विवाद पनि छ, काम पनि अघि बढिरहेको छ । यस्ता समस्या देखिनुका कारण भनेको पार्टीको विधि विधान नमान्ने गर्दाखेरि नै हो ।

नेता मिलेमा सबै ठीक हुने, कार्यकर्ताको कुराको सुनुवाइ नहुने समस्या यथावत छ । नेताहरु यही कुरामा अभ्यस्त छन् । नव निर्माणका कुरा गरिएको पनि यसैमा सुधार ल्याउनका लागि हो ।

राजनीतिक मिसन पूरा गर्दै जाने क्रममा विधि विधान पनि नमान्ने परंपरा विकसित हुँदै गएको छ । यही कुरामा सुधार ल्याउन नसकेमा हामी अघि बढ्न सक्दैनौ ।

यो महाधिवेशनबाट पार्टी नवनिर्माणको प्रक्रिया अघि बढायौं भने अबका ४ वर्षपछि हुने अर्को महाधिवेशनमा हामी नवनिर्माणमा अघि बढिसकेका हुने छौं । नत्र हालसम्मको परम्परा कायमै रहने छ ।

५. पुस्ता हस्तान्तरणसँगै नवनिर्माण हो कि पुरानै नेतृत्व अन्तर्गत ?

अहिले महाधिवेशनको प्रक्रिया चलिरहेको छ । महाधिवेशनबाटै नेतृत्व चयनको प्रक्रिया पनि अघि बढ्छ । यसपालाको महाधिवेशनबाट पुस्ता हस्तान्तरण हुने देखिन्छ ।

यो अहिले नै युवामा आउँछ भन्ने त होइन । तर पुरानै मध्येको दोस्रो पुस्तामै रहला । तर पनि नेतृत्व र पुस्ता परिवर्तन भने हुन्छ । नेपाली कांग्रेसको संगठनात्मक प्रक्रियामा यो पनि धेरै ठूलो कुरा हो ।

६. तपाईहरुको हातमा आएपछि पनि पुरानो ढर्रा कायमै रहने हो कि ?

हो, हामी अहिले पार्टीका पदाधिकारीहरु हौं । हामी दुई पटकभन्दा बढी नउठ्ने भन्ने विधान लागू हुनु पर्छ । हामी दोस्रो पुस्ताका नेताहरु हारे पनि र जिते पनि त्यहीं झुुण्डिइराख्ने गर्नु हुँदैन ।

त्यसो गरियो भने हामी पछिका दोस्रो पुस्ताको पालो कहिले आउने ? हामी नेतृत्व भनेको बगेको नदी झैं हुनुपर्छ । नयाँ नयाँ र सफा सफा पनि । कसैले पनि विधानको समय सीमा मिच्नु हुँदैन ।

यसका लागि कुनै पार्टीले उमेरको हदबन्दी लगाएको छ । कसैले समयको सीमा तोकेको छ । कहिं न कहिं त निकास हुनै पर्छ । हाम्रै पार्टीको विधानमा पनि दुईपटक भन्दा बढि सभापति हुनुहुँदैन भन्ने छ । तर चोर बाटोबाट यसको उल्लंघन हुँदै आएको छ ।

हाम्रो जस्तो निर्वाचनमा मात्र भाग लिने पार्टीको लोकप्यिताको मानक भनेको के हुने त ? हाम्रो पार्टीमा सभापतिमा पराजित भए पनि त्यो नेता राजनीतिमा सक्रिय भैरहन्छ । तर सभापति जितेको नेता फेरि पनि उठिरहन्छ ।

यो प्रक्रिया हाम्रो पुस्तामा पनि कायमै रहने हो भने आगामी २०÷२५ वर्षसम्म हामीहरुले नै ओगट्ने र खाने डर त भैरहने भयो ।

७. त्यसो भए तपाईको नव निर्माण भनेको पुस्ता मात्र फेरिने हो ? विचार, नीति, संस्कार र संस्कृति फेरिने होइन ?

मैले नेतृत्व निर्माणको विषयमा मात्र आफ्ना कुरा राखे । नेतृत्व भनेको विचार पनि हो । नयाँ नेतृत्व विचार लिएर आउँदा अवश्यै पनि विचार, संस्कार फेरिएला । यो मुख्य कुरा नै हो ।

तर नेतृत्व नै नफेरिने भए त नयाँ विचार र संस्कारको परिकल्पना गर्न पनि त सकिदैन । संस्कारगत विकृति आएको पनि यसरी नै हो । अगाडिकाले निकास नदिँदा यसो हुन गएको हो ।

८. युवा नेतृत्वका कुरा जति गरे पनि युवाहरु कुनै न कुनै गुटको पुच्छर समातेर अघि बढ्न खोजेको देखिन्छ त ?

लोकतान्त्रिक प्रक्रियामार्फत् खुल्ला निर्वाचन गर्ने÷गराउने प्रक्रिया बसालिसकेपछि प्यानल बन्छ, प्रति प्यानल बन्छ, स्वतन्त्र उम्मेदवारहरुको आफ्नै प्यानल बन्छ । यसलाई गुट भन्न नमिल्ला तर यसले स्थायित्व ग्रहण गर्दै जाँदा गुट भने अवश्य हुन्छ ।

अर्कोतिर एमालेको जस्तो पार्टी अध्यक्षको पूर्ण नियन्त्रण भएको र त्यहाँ प्रजातान्त्रिक अभ्यासको ठाउँ नै नरहेको जस्तो हुने भयो । एकजनाको इच्छा, चाहना र निर्देशनमा पार्टीका सबै कुरा निर्भर हुने भयो ।

तर नेपाली कंग्रेसमा हामीले गर्न खोजेको अभ्यास भनेको निर्वाचनका बेला बनेको चुनावी सहकार्य स्थायी गुटमा रुपान्तरण नहोस् भन्ने हो । यसका लागि हामीले सचेतता अपनाउनु जरुरी छ ।

९. झिनो आधार त देखिएको छ, सांगठनिक रुपमा लगभग ५० प्रतिशत युवा अनुहार यो महाधिवेशनमा देखिने भएको छ । यो नेतृत्व तहसम्म पुग्न सक्ला ?

हाम्रो पार्टीमा तीन खालका प्रतिनिधिहरु आउनु हुने भएको देखिएको छ । पहिलो लामो समयसम्म पार्टी र प्रजातान्त्रिक आन्दोलनमा योगदान भएका, दोस्रोमा नौजवान युवाहरु आउनु भएको छ । अरु केही साथीहरु कुनै पनि गुट वा नेतासँग सामिप्यता नभएका साथीहरु आउनु भएको छ ।

यो अवस्थालाई हेर्दा पार्टीभित्र जमेर बसेको नेतृत्वमा फेरबदल ल्याउन यसले ठूलो सहयोग गर्ने देखिएको छ । यसले माथिसम्म पनि प्रभाव पारिरहेको छ ।

१०. सोचेको परिणाम आउला ? पुरानै नेताहरुबीच घमासान लडाइँ भैरहेको छ ?

हामी प्रयत्नरत छौं । यो परिणाम ल्याउने ग्राउण्ड तयार भैरहेको छ । पुराना नेताहरुले पनि सोच्छन् र युवाहरुले पनि विवेक पुर्याउने छन् ।