काठमाडौं । बौद्ध धर्मगुरु सूर्य बज्रयानाद्वारा लिखित ‘बौद्ध दर्शनको संक्षिप्त चर्चा’ नामको पुस्तक प्रकाशन भएको छ । जन्मको नाम सूर्यकुमार घिसिङ रहेका उनी सामाजिक सञ्जाल र सञ्चार माध्यममा सूर्य बज्रयाना नामबाट परिचित छन् । सूर्य बज्रयानाकै नामबाट आफूलाई चिनाउने उनी बौद्ध दर्शनका चर्चित गुरु रहेका छन् । उनी आफूलाई बौद्ध दर्शन भित्रको बज्रयाना सम्प्रदायको बताउँछन् ।
उनका बौद्ध दर्शन तथा समसामयिक विषयका लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियाहरुमा बारम्बार आउने गर्दछन् । बुद्धका दर्शनमा रहेका शिक्षाहरुलाई धार्मिक रुपमा ग्रहण गर्ने विभिन्न सप्रदायहरु महायान, हिनयान र बज्रयानमध्ये बज्रयान सम्प्रदायका गुरु रहेका उनको पुस्तकाकारको रुपमा आएको ‘बौद्ध दर्शनको संक्षिप्त चर्चा’ भने पहिलो संग्रहका रुपमा प्रकासित सिर्जना हो ।
संसारभर बौद्ध दर्शन शान्ति र अहिंसाको दर्शनको रुपमा चर्चित छ । बौद्ध दर्शनका प्रवर्तक सिद्धार्थ गौतम बुद्धले निर्माण गरेका नालन्दा, तक्षशीला लगायतका स्थानहरुमा भएका गुम्बा र विश्व विद्यालयमाहरुमा आगो लागेर बौद्ध दर्शनका हजारौं महत्वपूर्ण र विभिन्न ग्रन्थहरु नष्ट भएको कारण सो बौद्ध दर्शनको अध्ययन गर्नेहरुलाई ऐतिहासिक रुपमा घाटा भएको कुरा संसारका बौद्धमार्गीहरु दुःखका साथ व्यक्त गर्छन् ।केही विद्धानहरुले बौद्ध धर्म सम्बन्धि ऐतिहासिक पुस्तकहरु अन्यधर्मका मानिसहरुले योजनावद्धरुपमा जलाइदिएको आरोप पनि लगाएका छन् । इतिहासका कयौं दर्शनहरु यस्तै गरेर नष्ट भएका कुराले सिंगो मानव संसार दुखित रहेको छ ।
झट्ट हेर्दा र बुझ्दा बुद्ध दर्शन जटिल जस्तो देखिए पनि यो दर्शन जति सरल अरु कुनै दर्शन छैन भन्दै गुरु बज्रयान भन्ने गर्छन, ‘बुझ्दै जाँदा बुद्ध दर्शन जति सरल अरु कुनै दर्शन देखिंदैन ।’ फुटकर रुपमा बुद्ध दर्शनबारे लेख्दै र बोल्दै आएका सर्जक बज्रयानाले फुटकर रुपमा लेखेर मात्र दीर्घकालीन महत्व पूरा नहुने भन्दै यसका लागि बुद्ध दर्शको कुनै दस्तावेज आवश्यक भएको महशुस गरेर नै बौद्ध दर्शनबारे यो पुस्तक निकाल्न प्रेरित भएको बताएका छन् । दर्शनको पुस्तक केवल कोरा कल्पनाले मात्रै निर्माण हुन नसक्ने भएकोले विभिन्न पुस्तकहरुलाई अध्ययन गरेर हजारौं तथ्यहरुको खोजी साथै सयौं स्रोतहरु मार्फत् ‘बौद्ध दर्शनको संक्षिप्त चर्चा’ नामको पुस्तक तयार भएको उनले बताए । मैले किन यो पुस्तक लेखे ? भन्ने प्रसंगमा लेखक बज्रयानाले भनेका छन्, ‘कुनै ज्ञान र तथ्यलाई हजार वर्षसम्म जोगाउने माध्यम भनेको पुस्तक भएकोले बुद्ध दर्शनको एउटा दस्तावेज आवश्यक भएको ठानेर यो पुस्तक तयार पारें ।’
१४४ पेजको दर्शन विधाको सो पुस्तकमा पूर्व शिक्षामन्त्री तथा वरिष्ठ राजनीतिज्ञ दिनानाथ शर्माले भूमिका लेखेका छन् । पुस्तकको महत्वलाई शब्दमा व्यक्त गर्दै भूमिकामा शर्माले भनेका छन्, ‘नेपाली बौद्ध साहित्यको भण्डारमा एउटा राम्रो सामग्री थापिनुको साथै बुद्ध धर्म र दर्शनका पाठकहरुलाई महत्वपूर्ण अध्ययन सामग्रीका रुपमा यो रचना पस्किएको छ ।’ सो पुस्तक बुद्ध दर्शनको सारतत्वको रसायन बनेको भन्दै शर्माले पुस्तकले बुद्ध साहित्यका जिज्ञासु पाठकलाई सरल ढंगले खुराक पस्केको धाराणा व्यक्त गरेका छन् ।
पुस्तकमा लेखकले बुद्धका चार आर्य सत्य, दुःख, दुःखका कारण, दुःखको निरोधक र दुःखको प्रत्यसमुत्पादनले भूत, वर्तमान र भविष्यकालमा समेत काम गर्छन् भन्ने बुद्ध साहित्यमा रहेका विषयलाई प्रस्तुत गरेको देखिन्छ । बुद्धका अष्टाङ्ग मार्गहरु, सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कार्य, सम्यक जीविका, सम्यक प्रयत्न, सम्यक ज्ञान र सम्यक समाधीको पुस्तकमा उल्लेख गरेर वर्तमान समयमा यिनीहरुको धेरै महत्व भएको कुरा पुस्तकमा प्रष्ट पार्ने प्रयास गरिएको छ ।
प्रज्ञा, शील र समाधी बौद्ध संस्कृतिको सारतत्व हो भन्ने कुरा पनि पुस्तकमा भेटिन्छ । बुद्ध दर्शनमा विभेद र हिंसाको स्थान छैन । मैत्री, करुणा र मुदिता बुद्ध संकृतिका विशेषता हुन् पंचशील र अष्टशीलको सारतत्वका रुपमा बुद्ध दर्शन जीवन र व्यवहारसापेक्ष रहेको भनेर बज्रयानाले उक्त पुस्तकमा लेखेका छन् ।
पुस्तकको भाषा सम्पादन पत्रकार तथा साहित्यकार अशोक सुवेदीले गरेका छन् भने युवा कवि रसुवाली कविले पुस्तकको सम्पादन संयोजन कार्य गरेका छन् । निर्मल श्रेष्ठले आवरण डिजाइन गरेको सो पुस्तकको भित्रि सज्जा द आर्ट एण्ड डिजाइनले तयार पारेको हो । मित्र प्रेस नयाँबजारमा मुद्रण भएको पुस्तकको प्रकाशक पनि मित्र प्रेस प्रालि नयाँबजार नै रहेको छ । पुस्तकको व्यक्तिगत मूल्य २७५ नेपाली रुपैयाँ रहेको छ भने संस्थागत मूल्य ५ सय रहेको छ ।
रत्नप्रसाद अनामणि श्रेष्ठ र रसुवाली कविले पुस्तकमा मन्तव्य लेखेका छन् । लेखकीय, मन्तव्य र भूमिका बाहेक ४२ वटा विभिन्न शिर्षकहरुम्मा विभिन्न खोजमूलक र रोचक लेखहरु समावेश भएको उक्त पुस्तक बुद्ध दर्शनमा रुची राख्नेहरुलाई ज्ञानको भण्डार त हुने नै छ । झन् यो पुस्तकको आवरण सज्जा र भित्रि डिजाइनले पाठकको हातमा पर्ने बित्तिकै पढौं–पढौं लाग्नेछ ।